☰ open Loading... 1 May 2024|  

सकस खेप्दै मुक्त कम्लरी
  | २८ पुष २०७४, शुक्रबार ०७:५५

कञ्चनपुर — मुक्त कम्लरी अनिता चौधरी पूर्णा माविको छात्रावासमा बसेर अध्ययन गर्छिन् । १२ कक्षामा पढिरहेकी अनितासँग विद्यालय पोसाकबाहेक न्यानो लुगा छैन । ‘न्यानो हुने राम्रो खालको ओढ्ने–ओछ्यानेसमेत नहुँदा राति निकै चिसो हुन्छ,’ उनले भनिन् ।

लगातारको शीतलहर र हुस्सुले चिसो अत्यधिक बढेको छ । न्यानो लुगा अभावमा भीमदत्त नगरपालिका–१२ स्थित छात्रावासमा अध्ययनरत मुक्त कम्लरी सास्ती खेपिरहेका छन् । ‘यहाँ बस्ने सबैको अवस्था उस्तै हो, कसैसँग पनि न्यानो लुगा छैन,’ उनले भनिन् । उक्त छात्रावासमा अभिभावक नभएका २९ मुक्त कम्लरी बस्छन् । उनीहरूलाई सरकारले आवासीय सुविधासहित अध्ययनको व्यवस्था मिलाएको छ । मुक्त कम्लरी विकास मञ्च कञ्चनपुरकी अध्यक्ष कमला चौधरीले चिसोमा बाहिर निस्कँदा थरथर काम्ने गरेको बताइन् । उनले भनिन्, ‘न्यानो लुगा नहुँदा चिसो खेप्नै गाह्रो भयो ।’

१२ कक्षामा अध्ययनरत ज्योति खुनाले दिनमा बाहिर ननिस्कने गरेको बताइन् । ‘आगो तापेर भित्रै बस्नुपरेको छ,’ उनले भनिन्, ‘दाउरा नहुँदा आगो ताप्न पनि समस्या पर्न थालिसक्यो ।’ गत वर्ष विभिन्न संघ–संस्थाले ओढ्ने ओछ्याउने लुगा सहयोग गरेका थिए । तिनैले अहिलेसम्म काम चलिरहेको पूर्णा माविका प्रधानाध्यापक परशुराम पन्तले बताए । ‘मुक्त कम्लरीलाई लगाउने लुगा कसैले सहयोग गरेको छैन,’ उनले भने, ‘नत सरकारले नै बजेट उपलब्ध गराएको छ ।’

छात्रावासमा बस्ने मुक्त कम्लरीका लागि सरकारले उपलब्ध गराउँदै आएको खर्च पढाइ र खाना–बस्नकै लागि समेत नपुग्ने विद्यालयले जनाएको छ । खानाका लागिसमेत विभिन्न संघ–संस्था गुहार्नुपर्ने अवस्था रहेको प्रधानाध्यापक पन्तले बताए । दसैं–तिहार र माघीलगायत चाडपर्वका बेला विभिन्न संघ–संस्थाकै सहयोगमा खानेकुरा उपलब्ध हुने गरेको छ । सरकारले हरेक महिना खाना र बस्ने व्यवस्था मिलाउन विद्यालयलाई ३ हजार ५ सय र सरसफाइका लागि प्रति मुक्त कम्लरी ५ सय रुपैयाँ दिने गरेको छ । ‘यो पनि १० महिना मात्रै पाइन्छ,’ प्रधानाध्यापक पन्तले भने, ‘बाँकी २ महिना केले खुवाउनु, विद्यालयसँग आन्तरिक स्रोत केही पनि छैन ।’ मासिक उपलब्ध हुने रकमले महिना दिन खान समेत नपुग्ने उनको भनाइ छ ।

छात्रावासमा अध्ययनरत मुक्त कम्लरीहरूले बस्न र खान मात्रै नभएर लुगाकपडा, ट्युसन तथा स्वास्थ्य उपचारका लागिसमेत बजेट उपलब्ध गराइनुपर्ने माग गरेका छन् । बिहीबार आयोजित माघी मिलन कार्यक्रममा उनीहरूले अहिले पाइने रकमबाट खानसमेत नपुग्ने भएकाले बढाउन माग गरे । ‘यसले त खाना खान पनि पुग्दैन,’ मुक्त कम्लरी विकास मञ्चकी जिल्ला अध्यक्ष कमलाले भनिन्, ‘कोही बिरामी भए केले उपचार गर्ने रु’ उनका अनुसार गत वैशाखमा छात्रावासमा बस्ने रञ्जना गिरीको आर्थिक अभावले समयमा उपचार नहुँदा मृत्यु भएको थियो ।