☰ open Loading... 16 April 2024|  

गति लिदैं कर्णाली करिडोर, ६६ किलोमिटर निर्माण पुरा
  | २८ पुष २०७४, शुक्रबार १२:३३

सडक सञ्जालमा जोडिदैं हुम्ला

पवित्रकुमार शाही
कालिकोट । डेढ दशकसम्म अलपत्र रहेको कर्णाली करिडोर अन्तर्गत कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोट जोड्ने सडक निर्माण कार्यले गति लिएको छ । करिडोर अन्तर्गतको एक सय ९६ किलोमिटरमध्ये ६६ किलोमिटर सडक निर्माण कार्य पूरा भएको हो । सडक निर्माणको जिम्मा नेपाली सेनाले लिएपछि यसले गति लिएको हो । अहिले धमाधम सडक निर्माण कार्य भइरहेको छ ।

कालिकोटको लालीघाटदेखि घाटपारीचौरसम्म ३३ किलोमिटर र बाजुराको राताडाँडादेखि अर्थुगेचौरसम्म ३३ किलोमिटर सडक निर्माण सम्पन्न भएको हो । एक सय ९६ किलोमिटरमध्ये खुलालुदेखि सिमीकोटसम्म ६६ किलोमिटरमा गाडी संचालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलले जानकारी दिएको छ ।

हाल लालीघाटदेखि घाटपारीचौरसम्मको ३३ किलोमिटरमा मात्र गाडी संचालनमा आएका छन् । भुक्काखोलाको भीर फोडेमा करिव ७० किलोमिटरसम्म गाडी संचालन गर्न सकिने नेपाली सेनाको निर्माण कार्यदलका प्रमुख इन्दीवर गुरुङ्गले बताए । ‘भुक्काखोलादेखि तोलीभीरसम्म ४ किलोमिटर भीर फोड्न बाँकी रहेको छ’ उनले भने, ‘यो भीर फोडियो भने ७० किलोमिटरसम्म निर्माण कार्य पुरा हुनेछ । हालसम्म ६६ किलोमिटर कार्य पुरा भएको छ ।’


जोडिदै हुम्ला
पछिल्लो समय नेपाली सेनाले सडक निर्माण कार्यलाई तिव्रता दिएको छ । निर्धारित समयभित्र सम्पन्न गर्नेगरी काम भइरहेको सेनाले जनाएको छ । अहिलेकै गतिमा काम भएमा राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्लामा चाँडै सडक पुग्ने विस्वास लिइएको छ । कर्णाली करिडोर अन्तर्गतको हिल्सा–सिमीकोट खण्डको निर्माण गर्न बाँकी दुरी छोटिदै गएको छ । हिल्सा–सिमीकोट सडकखण्डको ९ किलोमिटर मात्र निर्माण हुन बाँकी रहेको सडक आयोजनाका प्रमुख विजयकुमार थापाले बताए ।

९५ किलोमिटर लम्बाइ भएको यो खण्डमा हिल्सादेखि दक्षिण नाम्खा गाउँपालिकाको ओखरथलासम्म १५ किलोमिटर सडकमा ट्रयाक खुलेपछि गाडी आउजाउ गर्न थालेका छन् । सडक आयोजना प्रमुख थापाका अनुसार तुम्कोटस्थित कर्णाली नदीमा यो वर्ष ‘बेलिब्रीज’ निर्माण भएपछि हिल्सादेखि ओखरथलासम्म गाडी चल्न सहज भएको हो ।

ओखरथलामा गत वर्षमै ट्रयाक खुलिसकेको थियो । यसअघि कर्णाली नदीको पुल नबन्दा हिल्सादेखि तुम्कोटसम्म ३८ किलोमिटर मात्र गाडी गुड्ने गरेका थिए । ‘हिल्सादेखि ओखरथलासम्म सडक खुलेपछि गाडी गुड्न थालेका छन्’ उनले भने, ‘अहिले आधा दर्जन गाडी गुड्न थालेका छन ।’

बजेटको अभाव छैन
कर्णाली करिडोर निर्माणका लागि नेपाल सरकारले एक अर्ब ४८ करोड ११ लाख १६ हजार बजेट विनियोजन गरेको छ । खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको एक सय ४५ किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । विगतका वर्षमा बजेट अभावले काम बन्द हुने भएपछि नेपाली सेनालाई निर्माणको जिम्मा दिएको हो । रकम धेरै लगानी, काम शून्य भएपछि सडक विभागले सेनाको जिम्मा लगाएको जनाइएको छ ।

 

सेनाले जिम्मा नलिनु पुर्व ठेकेदारको लापरवाहीले काम नगर्दा करोडांै बजेट फ्रिज जाने गरेको थियो । करिडोरको खुलालु–हुम्ला सिमिकोटमा सडक विभागले आर्थिक वर्ष २०६५।०६६ देखि काम सुरु गरे पनि लक्ष्यअनुसार कामको प्रगति देखिएको थिएन ।

कर्णाली करिडोर सडक निर्माण पूरा भएपछि कर्णालीपारिका तत्कालिन १७ गाविससहित बाजुरा, मुगुको पश्चिम भेग र हुम्लाबासी प्रत्यक्ष लाभान्वित हुनेछन् । करिडोरको काम २०७६ भित्र सम्पन्न गर्ने नेपाली सेना सडक निर्माण कार्यदलका प्रमुख कर्णेल इन्दीवर गुरुङ्गले जानकारी दिए । सडक निर्माणका लागि सरदर प्रतिकिमि ७० लाख लागत पर्ने कर्णेल गुरुङ्गले जनाए ।

सडक निर्माणले गति लिएपछि स्थानियवासी पनि खुसी भएका छन् । गत जेठ २२ गते कर्णाली करिडोरको जिते–लालिघाट हुँदै रेगिल, जारकोटसम्म जीप पुगका छन् । करिडोरकै सबै भन्दा अप्ठेरो चट्टान लालिघाटदेखि रेगील शान्नीगाडसम्मको भए पनि एक वर्ष भित्रै गाडि गुडाएपछि स्थानीय हर्षित भएका हुन् ।

वि.स.२०५७ सालमा नेपाल सरकारका तत्कालिन उपप्रधानमन्त्री रामचन्द्र पौडेलले सिलान्यास गरेको कालिकोटको खुलालुदेखि हुम्लाको सिमिकोटसम्मको १९२ किलोमिटर सडकखण्ड १५ बर्षसम्म अलपत्र परेको थियो ।
समृद्धीको मुख्य आधार
कर्णाली करिडोरलाई यो प्रदेशको समृद्धिको आधारको रुपमा हेरिएको छ । भौगोलिक विकटताले पछि परेको कर्णालीमा सडकको पहुँच पुगेमा यहाँको विकासले पनि गति लिने अपेक्षा यहाँका नागरिकले गरेका छन् ।

कर्णालीको विकासको मुख्य पुर्वाधार सडकको सपना साकार हुने जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले बताए । कर्णाली क्षेत्रको विकासको मुख्य ढोका कर्णाली करिडोर नै भएको शाहीले बताए । कर्णाली करिडोरमा गाडी गुडेपछि गरिवीको रेखामुनी रहेका हजारौं नागरिकका लागि ठुलो राहत भएको नेपाल तरुण दलका महामन्त्री भुपेन्द्रजंग शाही बताउँछन् ।

उनले कर्णाली करिडोर निर्माण पुरा भएपछि विकासका अन्य पूर्वाधारहरुको विकास हुनुका साथै स्थानीय उत्पादनको बजारिकरण गरी स्थानीयको आर्थिक अवस्थामा सुधार आउने विस्वास व्यक्त गरे । कर्णाली करिडोर चीनसँगको सिमाना जोडिएको हुम्लाको हिल्सादेखि भारतसँग सिमाना जोडिएको बाँकेको जमुनाहसम्म उत्तर दक्षिण जोड्ने सबैभन्दा छोटो दुरीको सडक हो ।

यसको कुल लम्बाई पाँच सय ३० किलोमिटर छ । सडक निर्माण सम्पन्न भएमा भारतबाट हुम्लाको मानसरोवर पुग्ने पर्यटकको लागि सहज हुनेछ । मानसरोबर पुग्ने आन्तरिक र बाह्य पर्यटकको आगमनले कर्णाली क्षेत्रको पर्यटक विकास र आर्थिक गतिविधिमा वृद्धि हुनेछ । करिडोर निर्माण भए पर्यटन र व्यापारका दृष्टिकोणले त्रिदेशीय ट्रान्जिट बन्ने भएकोले विकासको दृष्टिकोणले पछाडी परेको कर्णालीको विकासले तिव्रता पाउने आश यहाँका नागरिकको छ ।
(क्रियाशील पत्रकार मञ्च नेपालका लागि)