मदन विक
सुर्खेत । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सुर्खेतमा प्रदेश स्तरीय निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । शनिवार वीरेन्द्रनगरमा आगामी माघ २४ गने हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि स्थानीय तह अन्तर्गतका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष एवं नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य मतदाता रहने व्यवस्था छ ।
निर्वाचनमा प्रदेश नम्बर ६ का गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी १ सय ५८ जना तथा प्रदेशसभाका प्रत्यक्ष र समानुपातिकका ४० सदस्य गरी कुल १९८ जनाले मदतान गर्न पाउने निर्वाचन अधिकृत अथात् जिल्ला न्यायाधीस मेदिनिप्रसाद पौडेले जानकारी दिए ।
निर्वाचन अधिकृत पौडेलका अनुसार प्रदेश नम्बर ६ बाट राष्ट्रिय सभाका लागि ८ निर्वाचित हुनेछन् । जसमध्य ३ जना खुल्ला, ३ जना महिला, १ जना अल्पसंख्यक र १ जना दलित चुनिने छन् । ‘लोकतन्त्रमा निर्वाचन प्रणालीको कदर हुने भएकाले राष्ट्रिय सभा निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीति दलहरुलाई आग्रह उनले गरे ।
यस्तै निर्वाचन अधिृकत कार्यालयले राष्ट्रिय सभा निर्वाचनको समय तालिका समेत सार्वजनिक गरेको छ । कार्यतालिकाअनुसार आयोगले ७ माघमा मतदाता नामावली प्रकाशन गर्नेछ भने सोही दिन प्रकाशित नामावलीमाथि दाबी विरोधका लागि समय दिएको छ । यस्तै, ८ र ९ माघका दिन आयोगले उजुरी उपर छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्नेछ ।
यस्तै, १० माघका दिन उम्मेदवारको मनोनयनपत्र दर्ताका लागि आयोगले समय तोकेको छ भने सोही दिन मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने कार्यतालिका छ ।
आयोगले मनोनयन दर्ता गरेका उम्मेदवारको विरोधमा उजुरी दिनका लागि ११ र १२ माघको मिति तय गरेको छ । उजुरी उपरको छानबिन गरी आयोगले १३ माघमा जाँचबुझ गरी निर्णय गर्नेछ भने १४ माघमा उम्मेदवारको नामावली प्रकाशन गर्नेछ ।
यसैगरी, कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा १४ र १५ माघका दिन फिर्ता लिन सक्ने र १५ गते नै उम्मेदवारको अन्तिम नामावली आयोगले प्रकाशन गर्नेछ । यस्तै, १५ माघका दिन आयोगले उम्मेदवारहरूलाई निर्वाचन चिह्न दिनेछ भने २४ माघ बिहान १० देखि दिउँसो ३ बजेसम्म निर्वाचन गर्ने आयोगको कार्यतालिका छ ।
निर्वाचन अधिकृत पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदी, नेकपा एमाले जिल्ला कमिटी सुर्खेतका सचिव मोहन बडुवाल, नेपाली कांग्रेस जिल्ला कार्य समितिका कोषाध्यक्ष अन्नत पौडेल लगायतले आ–आफ्नो धारणा राखेका थिए ।