डोटी । सरकारले प्रदेश नम्बर ७ को राजधानी धनगढी तोकेपछि असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस जिल्ला उपसभापतिसहित ३५ नेता कार्यकर्ताले सामूहिकरुपमा पार्टी परित्याग गरेका छन् ।
बुधवार राति पार्टी जिल्ला उपसभापति लक्ष्मणबहादुर सिंह, सचिवद्वय नारायण जोशी र वीरेन्द्र शाह, कोषाध्यक्ष भरत कठायत, सहसचिव तेजबहादुर लुहार, दिपायल नगरपालिका सभापति गणेश मलासीलगायत ३५ जनाले सामूहिक विज्ञप्ति जारी गरी कांग्रेस परित्याग घोषणा गरे । ‘कांग्रेस नेतृत्वको सरकारले डोटेली जनताको भावनविपरीत राजधानी तोक्ने निर्णय गरेको, दुर्गमका जनतामाथि अन्याय गरेकाले पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टी परित्याग गरेका छौँ,’ विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राजधानी धनगढी सारिनुले डोटी र डोटीबासीको परिचयसँग सामिप्यता गाँसेका सम्पूर्णजनको घोर अपमान भएको महसुस भएको छ ।’ सरकारको निर्णयले प्रदेश नम्बर ७ का पहाडीबासी सबै अन्यायमा परेको विज्ञप्तिमा उल्लेख छ । ‘नेपाली कांग्रेसको साधारण सदस्यसमेत त्याग्नु बाध्यात्मक कदम भएकाले हामी डोटीमा क्रियाशील अन्य राजनीतिक सहयात्रीलाई डोटेली जनताको आन्दोलनमा सहयोग गर्न आग्रह गर्दै जनताको साथमा सडकमा रहने प्रतिवद्धता व्यक्त गर्दछौंँ,’ विज्ञप्तिमा भनिएको छ । पार्टी सभापति प्रदीप देउवा जिल्ला बाहिर छन्, सम्पर्क हुन सकेन ।