काठमाडौँ । माघ २४ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा आज उम्मेदवारी दर्ता हुँदै छ । निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले राष्ट्रियसभा निर्वाचन प्रयोजनका प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको आयोगले जनाएको छ ।
आज बिहान १० देखि ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्थापन मिलाइए छ । निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रियसभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ ।
प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट आठ सदस्य चुनिने छन् ।
संविधानअनुसार कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना हुनेछन । राष्ट्रियसभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय तथा बहुमतीय दुवै प्रणाली अपनाइनेछ । अध्यादेशले एक सदस्य मात्र निर्वाचित गर्नुपर्ने दलित र अपांगता भएका व्यक्ति वा अल्पसंख्यक समूहको निर्वाचन बहुमतीय प्रणालीबाटै गरिने व्यवस्था गरेको छ ।
३५ वर्ष पूरा भएको र प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मतदाता सूचीमा नाम भएको व्यक्ति उम्मेदवार हुन पाउने छन । आयोगका अनुसार उम्मेदवारले मनोनयनपत्र दर्ता गराउन जाँदा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, मतदाता सूचीमा नाम भएको प्रमाण र दलको उम्मेदवार हुन चाहे सम्बन्धित दलको औपचारिक पत्र बोकेर जानुपर्छ । उम्मेदवारी दर्ताका लागि १० हजार रुपैयाँ धरौटी तोकिएको छ ।