सुर्खेत । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा पिएचडी कार्यक्रम यसै शैक्षिक सत्रदेखि सुरु हुने भएको छ । बुधबार वीरेन्द्रनगरमा प्रदेश नं. ६ का प्रदेश प्रमुख माननीय दुर्गा केशर खनाललाई उक्त कार्यक्रमको समुद्घाटनका लागि निमन्त्रणा तथा बधाई दिँदै मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतका उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाले पिएचडी कार्यक्रम सञ्चालन गर्न लागेकाे जानकारी दिएका हुन् ।
उपकुलपति कोइरालाले विगतमाझैं यस प्रदेशको समग्र विकास, समृद्धि र विश्वविद्यालयको प्राज्ञिक उन्नयनमा सक्रिय सहयोग हुने विश्वास समेत लिएको बताए ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतले पिएचडी कार्यक्रमको समुद्घाटन समारोह शुक्रवार विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा बिहान ८ बजेलाई तय गरेकाे छ । उपकुलपति प्रा.डा. उपेन्द्र कुमार कोइरालाको सभापतित्वमा हुने उक्त कार्यक्रमको प्रमुख अतिथि प्रदेश नं. ६ का प्रदेश प्रमुख माननीय दुर्गा केशर खनाल रहनेछन् ।
२५ बर्ष पुराना विश्वविद्यालयहरुले संचालन गर्न नसकेको कार्यक्रम मध्यपश्चिमाञ्चल विश्वविद्यालयले संचालन गर्न लागेकोमा प्रदेश प्रमुख खनालले खुसि व्यक्त गरे । समुद्घाटन कार्यक्रममा विज्ञका रुपमा त्रिभुवन विश्वविद्यालका पुर्व शिक्षाध्यक्ष तथा व्यवस्थापन संकायका पुर्वडीन प्रा.डा. प्रेमराज पन्त, काठमाडौँ विश्वविद्यालयस्कुल अफ म्यानेजमेन्टका डीन प्रा.डा. विजय के.सी., राष्ट्रिय योजना आयोगका सदस्य प्रा. पुस्कर बज्राचार्य, त्रिभुवन विश्वविद्यालय एमफिल पीएचडी कार्यक्रमका निर्देशक प्रा.डा. माधबराज कोइराला उपस्थित रहने कार्यतालिका छ ।