‘विचार पुर्याउनुस्, तपाईंलाई नै अप्ठ्यारो पर्ला ?’
कालिकोट । तीन सातादेखि फैलिएको भाइरल ज्वरो नियन्त्रणमा बढी सचेत हुनुपर्ने यहाँका प्रशासक र स्वास्थ्यकर्मीले रोगबारे बढाइचढाइ नगर्न सञ्चारकर्मीलाई ‘चेतावनी’ दिन थालेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले सञ्चारमाध्यमले बढाइचढाइ गरेको उल्लेख गर्दै आधिकारिक समाचारमात्र पठाउन सुझाएका छन् ।
‘जिल्ला स्वास्थ्यले नभनेर अरूले भाइरल ज्वरो कसरी भन्न मिल्छ रु’ प्रजिअ गैरेले भने, ‘एक जनाबाहेक अरू मानिसको मृत्यु भाइरलले भएको होइन ।’ कुन रोगले मृत्यु भएको हो भन्ने कुरा डाक्टरले नै पुष्टि गर्नुपर्ने उल्लेख गर्दै उनले भने, ‘‘विचार पुर्याउनुहोस्, तपाईंलाई नै अप्ठ्यारो पर्ला रु अलि ख्याल गर्नुहोला ।’ ‘मर्न त दिनमा कति मान्छे मर्छन् मर्छन्, कि हरेक मान्छेको रेकर्ड हुनुपर्यो,’ उनले भने ।
जिल्ला स्वास्थ्य प्रमुख डा। कौशल अलीले ८ जनाको मृत्यु भाइरलका कारण नभई अन्य रोगबाट भएको बताए । ‘समाचार लेखेर मलाई मन्त्रालय, विभागबाट अप्ठ्यारो पार्ने काम गरिदिनु भएन,’ डा। अलीले भने, ‘हामी सबै लागिरहेकै छौं, पहिलेभन्दा कन्ट्रोल पनि हुँदै गइरहेको छ ।’
जिल्ला शिक्षाको निर्देशनपछि सदरमुकाम मान्मस्थित महादेव आधारभूत विद्यालय बालमन्दिर शुक्रबारसम्मका लागि बन्द गरिएको छ । भाइरल प्रभावित खाडाचक्रका १, २, ३ र ४ का १५ र सान्नी त्रिवेणीको एक गरी १६ वटा विद्यालय मंगलबारदेखि बन्द गरिएका छन् ।
भाइरल ज्वरो बिग्रिएर कडा खालको निमोनियाँ हुँदा खाडाचक्र ३ का ३ बालबालिकाको मृत्यु भइसकेको छ भने अन्य रोग भए पनि गाउँमा भाइरल ज्वरोको समेत समस्या फैलिएपछि वडा २, ३ र ४ का ५ वृद्धवृद्धाको ज्यान गइसकेको छ ।
एकै दिन ८ सय ११ बिरामी परीक्षण गरेर संक्रमण ‘महामारी’ भएको बताएका जिल्ला स्वास्थ्य प्रमुख डा। अलीले रोग प्रभावित वडामा भएको मृत्यु अन्य रोगका कारण भएको दाबी गरेका छन् । ‘वृद्धवृद्धा भए पनि गाउँमा ज्वरो फैलिएपछि उनीहरूको मृत्यु भएको हो,’ अधिकारकर्मी बाले विश्वकर्माले भने, ‘वडा ४ का वृद्ध दाने विक प्यारालाइसिस बिरामी भए पनि भाइरल ज्वरोले मृत्यु भयो ।’ उनले गाउँमा महामारी फैलिएको जानकारी गराउँदा पनि सुरुमा जिल्ला स्वास्थ्यले बेवास्ता गरेको गुनासो गरे ।
पलाता गाउँपालिकाबाट फैलिएको भाइरल पचालझरना, नरहरिनाथ गाउँपालिका हुँदै रास्कोट, खाडाचक्र, तिलागुफा नगरपालिकासम्म फैलिएर दुई हजारभन्दा बढी प्रभावित भइसकेका छन् । पचालझरना गाउँपालिकामा मात्र १ हजार १ सय बिरामीको उपचार गरेर भाइरल नियन्त्रणभएको गाउँपालिका अध्यक्ष खडराज सेजुवालले बताए ।
खाडाचक्रको वडा २ र ४ मा मात्र शनिबार ८ सय १४, आइतबार १ सय ८९, सोमबार १ सय ६७ र मंगलबार १ सय ७७ जनालाई परीक्षण भएकामा सबै सामान्य रहेको डा। अलीको दाबी छ । उनले महामारी नियन्त्रणमा आउन थालिसकेको दाबी गरे ।
स्राेत ः कान्तिपुर