दैलेख । यहाँको गुराँस गाउँपालिकाको लेखा शाखामा तालाबन्दी भएको छ । गाउँपालिकाका कर्मचारीहरुले सेवाग्राहीहरुलाई मर्कामा पारेको भन्दै गुराँस गाउँपालिका-३ पातिकाल्नाका दीपक खत्रीको अगुवाईमा तालाबन्दी गरिएको हो ।
गाउँपालिकाका कर्मचारीहरुले मनोमानी ढङ्गबाट अगाडी बढेको, सेवाग्राहीका काममा ढिलासुस्ती गरेको भन्दै तालाबन्दी गरिएको खत्रीले जानकारी दिए ।
उनले भने ‘लेखाको कामको लागि आउने सेवाग्राहीलाई लेखापालले झुलाउने गरेका छन्, कार्यालय समयभित्र भेटिदैनन् अन्य शाखामा जाँदा पनि कर्मचारीहरुको ढिलासुस्ती छ, सेवा लिन आउने सेवाग्राही २/३ दिन बस्नुपर्छ, अनि हामीले पहिलो चेतावनी स्वरुप लेखा शाखामा तालाबन्दी गरेका छौ ।’
उनले यो चेतावनीबाट पनि कर्मचारीहरुले कार्य सम्पादन राम्रो नगरे अर्को विकल्प सोचिने बताए ।
उनले गुराँसका कर्मचारीहरु मनोमानी ढङ्गले हिड्ने गरेको भन्दै यसको खुलेर विरोध गरे । उनले भने ‘कर्मचारीका यस्ता क्रियाकलापको म भत्र्सना गर्दै भन्छु यसको लागि कार्यपालिकाबाट ठोस कदम चालियोस् ।’ यसको चित्तबुझ्दो जवाफ नआए तालाबन्दी यथावत रहने उनले बताए ।
यता, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्त बहादुर मल्लले आफुहरुले जनताको काम सहज ढङ्गले सम्पादन गरेको भन्दै आफुहरुमाथी लगाइएका आरोप झुठा भएको बताए । उनले आफुले लेखापाल चन्द्र बहादुर मल्ललाई कोष तथा लेखा नियन्त्रक कार्यालयबाट रकम ट्रान्सफर गर्न पठाएको बताए । उनले भने ‘मैले कर्मचारी व्यवस्थापनको काम राम्रोसँग गरेको छु, लेखापाललाई काममा पठाउदा किन तालाबन्दी गरियो ? भन्दै प्रश्न गरे ।
सेवाग्राहीहरुलाई आफुहरुले सहि ढङ्गले सेवा दिइरहेको भन्दै कुन सेवाग्राहीलाई पनि असुन्तष्ट नगराएको दाबी गरे । गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले आफु तालिमको लागि बाहिर गएको भन्दै यसको बारेमा बुझेर जवाफ दिने प्रतिक्रिया दिए ।
उनले भने ‘म तालिमको लागि बाहिर गएको छु, म केहिदिनमा गाउँपालिकामा जान्छु खास के कुरा हो ? तपाईलाई बुझेर जवाफ दिउला । म अहिले यो विषयमा केहि बोल्दीन् ।’