जुम्ला । तातोपानी गाँउपालिका ४ हाँकुमा रहेको इलाका स्वास्थ्य चौकी हाँकुमा जडान गरिएको तातोपानी सोलार सिस्टम प्रयोगविहीन भएको छ । २०७० सालमा हाँकु वर्थिङ सेन्टरमा जडान गरिएको सोलार सिस्टम प्रयोगमै नआएर बिग्रिएको हो ।
चिसो समयमा सुत्केरी भएका आमा र नवजात शिशुलाई नुहाउनको लागि समस्या उत्पन्न भएको इलाका स्वास्थ्य चौकीका अहेब पूर्णप्रसाद उपाध्यायले बताए । उनका अनुसार बिग्रिएको सोलार सिस्टमसम्म पानी जान्छ । तातिएको तातोपानी धारामा पास हुँदैन ।
सोलार सिस्टमको तातोपानी जडान भएको चार वर्षमा दुई महिनामात्र संचालन भएको थियो । अहिले पूर्णरुपमा बन्द भएको छ । इलाका स्वास्थ्य चौकीका अहेब उपाध्याय भन्छन्, ‘स्थानीय निकायका प्रतिनिधिले मर्मतसम्भारको आश्वासन दिए पनि काम भने अघि बढेको छैन ।’
जुम्लाको तापक्रम हिउँदको समयमा माइनस १० डिग्री सेल्सियससम्म पुग्छ । चिसो पानीले नवजात शिशुलाई नुहाउनु समस्या हुन्छ । वर्थिङ सेन्टरमा जन्मेका शिशुलाई चिसो पानीले नुहाउँदा निमोनिया रोगले सताउनुका साथै स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको अहेब उपाध्यायले बताए ।
तातोपानी गाँउपालिका ४ का स्थानीय बासिन्दा पूर्णप्रसाद न्यौपानेका अनुसार वर्थिङ सेन्टरमा तातोपानीको व्यवस्था भयो भनेर गाउँका महिलाहरू सुरक्षित सुत्केरी गराउन वर्थिङ सेन्टरमा जाने गरेका थिए । तर, सोलार सिस्टमको तातोपानी जडान गरिएको दुई महिनामा नै काम नलाग्ने गरी बिग्रियो, यसले नवजात शिशु र आमाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको छ । यसको मर्मतको लागि कसैले पनि चासो देखाएका छैनन् ।
वर्थिङ सेन्टरमा अध्याधिक चिसो हुने र तातोपानीको पनि व्यवस्था नभएकाले हाल गर्भवती महिलाहरू सुत्केरी हुने बेलामा पनि स्वास्थ्य संस्था जान छाडेका छन् । स्थानीय न्यौपानेका अनुसार वर्थिङ सेन्टरका कर्मचारीकै कमजोरीले सोलार सिस्टमको तातोपानी संचालन हुन नसकेको हो । जिल्लाका अधिकांश वर्थिङ सेन्टरमा तातोपानीको व्यवस्था छैन । दुर्गमका स्वास्थ्य चौकीमा न कर्मचारी हुन्छन्, न त समयमा औषधि नै पुग्छ ।
यो वर्ष नेपाल सरकारले स्थानीय तह लागू गरेपछि झनै समस्या बढ्दै गएको कार्यरत स्वास्थ्य कर्मीहरूले बताए । यो आर्थिक वर्षको गाउँपालिकाहरूले स्वास्थ्यका लागि आवश्यक बजेट नछुट्टाएकाले पनि औषधिको अभाव भएको अहेब पूर्णप्रसाद न्यौपाने बताउँछन् । उनका अनुसार गाउँपालिका कर्मचारीहरूलाई औषधि कहाँबाट कसरी खरिद गर्ने भन्ने पनि थाहा छैन । कतिवटा स्वास्थ्य चौकीमा त गाउँपालिकाले विनियोजित रकम अझसम्म उपलब्ध गराएको छैन । अस्पताल आएका सेवाग्राहीले समयमा नै औषधिसमेत नपाएको गुनासो गर्छन् ।
स्राेत ः जनता पाेस्ट