☰ open Loading... 27 December 2024|  

सरकारी जग्गा मनलाग्दी वितरण
  | १४ माघ २०७४, आईतवार ११:३८

मदन विक/पुर्णबहादुर खड्का, सुर्खेत  । 

सुर्खेत उपत्यका नगर विकास समितिको मातहतमा रहेको सार्वजनिक जग्गा हचुवाको भरमा वितरण गरिएको छ । नगर विकास समितिका पदाधिकारीहरुले आफूखुसी सार्वजनिक जग्गा व्यक्ति र संस्थालाई मनलाग्दी वितरण गरेको पाइएको छ । उपत्यकाको गुरुयोजना विपरित नगर विकास समितिको नेतृत्वले विगतदेखि नै मनलाग्दी जग्गा बाँडेका कारण उपत्यकाको विकासका लागि बनेको गुरुयोजना नै प्रभावित बनेको हो ।

सुर्खेत उपत्यकाको गुरुयोजनामा नगर विकास समितिको मातहतमा रहेको जग्गालाई स्पष्ट रुपमा विभिन्न १२ क्षेत्रका लागि प्रयोग गर्न सकिने भनेर उल्लेख गरिएको छ । तर नगर विकास समिति स्थापना भएयताका पदाधिकारीहरुले धमाधम निर्णय गर्दै आफू निकटका व्यक्ति र संस्थाहरुलाई मनलाग्दी जग्गा वितरण गरेका छन् । गुरुयोजनामा कुनै व्यक्ति वा संस्थाका लागि भाडामा दिनेगरी जग्गा छुट्याएको छैन् । गुरुयोजनाले मुख्यगरी नगरका आवास क्षेत्र, पोखरी, प्राइपरी स्कुल तथा रिजर्भवेसन, पार्क, बुलबुले उद्यान, व्यवसायकि प्रायोजन, गोदाम, शैक्षिक, सार्वजनिक र सरकारी क्षेत्रका नाममा एक सय ८४ विगाह, १२ कठ्ठा २९ धुर जग्गा समितिको स्वामित्वमा देखिन्छ ।

यस्तै उक्त गुरुयोजनामा पार्टी कार्यालय, सञ्चार गृह र व्यक्तिगत तथा व्यापारिक प्रयोजनका लागि जग्गा दिने भनिएको छैन् । तर समितिले सुर्खेतमा दलका पार्टी कार्यालय, सञ्चार गृह र व्यपारीहरुलाई हचुवामा जग्गा वितरण गरेको छ । ‘पहिला पहुँचका आधारमा पदाधिकारीले जग्गा बाँडे, गुरुयोजना विपरित दल र कार्याकर्ता रिझाउन हचुवाको भरमा जग्गा बाँडियो’ नगर विकास समितिका एक कर्मचारीले भने,‘अहिले प्रदेशको राजधानी बन्यो, वीरेन्द्रनगरमा राजधानीका लागि चाहिने जग्गा अपुग भो ।’ हाल जिल्लाका केही राजनीतिक दल र सञ्चार गृहलाई दिइएको नगर विकास समितिको जग्गा पहुँचका आधारमा सीमितलाई मात्र दिइएको छ । तर अन्य दल वा सञ्चारगृहका लागि जग्गा दिने निर्णय समितिले गरेको छैन् ।

समितिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादी फोरमलाई जग्गा उपलब्ध गराएको छ । पार्टी कार्यालयलाई मात्र नभई एफएम रेडियोलाई समेत जग्गा दिईएको छ । समितिले कांग्रेस, एमाले, माओवादी केन्द्र, जनमोर्चा र फोरमलाई १÷१ रोपनी जग्गा दिएको छ । यस्तै भेरी एफएमलाईसमेत सार्वजनिक जग्गा दिइएको छ ।

उक्त जग्गामा अहिले भवन निर्माण भइसकेका छन् । २०६७ सालमै समितिले गुरुयोजनाको भावना विपरित कुइनेपानीको सार्वजनिक जग्गा मध्यपश्चिमाञ्चल विश्वविद्यालयको नाममा हस्तान्तरण गरेको छ । यो जग्गामा अहिले विश्वविद्यालयले भवन बनाउन थालेको छ । २०५८ मंसिरमा नगर विकास समितिको बैठकले राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलहरुलाई जग्गा दिने निर्णय गरेको थियो । यतिबेला नगर विकास समितिका अध्यक्ष नरेन्द्र कोइराला थिए । कोइरालाले पार्टी कार्यालयका लागि नगर विकास समितिको जग्गा हस्तान्तरण गरेका थिए । त्यतिबेला राप्रपालाई पनि जग्गा दिने निर्णय भएको थियो । तर राप्रपाले जग्गा लिएन् ।

२०६४ सालमा नेकपा माओवादीको तर्फबाट समितिको अध्यक्ष बनेका जीतबहादुर रानाले माओवादी र राष्ट्रिय जनमोर्चालाई पनि जग्गा दिने निर्णय गर्दै जग्गा उपलब्ध गराए । २०६६ सालमा लोकतान्त्रिक फोरमको तर्फबाट श्यामसुन्दर अग्रवाल समितिको अध्यक्ष बने । अग्रवालले पनि गुरुयोजना विपरित आफ्नो पार्टीलाई जग्गा दिने निर्णय गरेको भेटिएको छ । नगर विकास समितिका पदाधिकारीहरुले गुरुयोजना विपरित मनलाग्दी जग्गा बाँड्दा अहिले वीरेन्द्रनगरको सुन्दरतामा नै कुरुपता आएको छ । अर्कोतर्फ भएको सार्वजनिक जग्गा हचुवाको भरमा वितरण गर्दा सुर्खेत उपत्यकाको गुरुयोजना नै प्रभावित भएको छ ।

के छ गुरुयोजनामा ? 

गुरुयोजनाले आवास क्षेत्रमा प्लटिङ्गकाका लागि आठ विगाह जग्गा छुट्याएको छ । यस्तै पोखरीका लागि विभिन्न स्थानमा आठ कट्टा १५ धुर जग्गा, फ्रिज जग्गा १७ कठ्ठा, प्राइपरी स्कुल र रिजर्भवेसनको लागि एक विगाह, पार्कका लागि विभिन्न स्थानमा गरी १९ कट्टा, बुलबुले उद्यानका लागि ३१ विगाह ११ कट्टा ८, व्यवसायीक क्षेत्रका लागि पाँच विगाह र १३ विगाह १७ कट्टा ६ धुर जग्गा गोदाम क्षेत्रका लागि छुट्याईएको छ ।

जिल्ला प्रशासन कार्यालयदेखि दक्षिण तर्फको स्थानमा पार्कका लागि चार विगाह, शैक्षिक क्षेत्रका लागि २३ विगाह, सार्वजनिक क्षेत्रका लागि ३५ विगा र सरकारी क्षेत्रका लागि ६१ विगाह जग्गा स्पष्ट रुपमै छुट्याईएको गुरुयोजनामा उल्लेख छ । तर उक्त गुरुयोजनामा पार्टी कार्यालय, विश्वविद्यालय र सञ्चारगहृलाई जग्गा दिने भनेर कहिंकतै उल्लेख गरिएको छैन । विभिन्न संस्थाका लागि वितरण भएको जग्गामा अहिले व्यक्तिहरुले नै आफ्नो नीजि प्रयोजनका लागि प्रयोग गरिरहेका छन् ।

कति जग्गा वितरण भयो ? 

व्यवसायीक क्षेत्रका लागि १५ विगाह १२ कट्टा १४ धुर जग्गा छुटाईएको थियो । यो सरकारी स्वामित्वमा रहेका संस्थान र वैंकका लागि छुट्टाइएको जग्गा हो । यसमध्ये समितिले हालसम्म पाँच विगाह दई कट्ठा तीन धुर जग्गा वितरण गरिसकेको छ भने १० विगाह, १० कट्टा १३ धुर जग्गा बाँकी छ ।

व्यवसायीक क्षेत्र अन्र्तगत समितिले कृषि विकास बैंकलाई १० कट्टा १९ धुर, कृषि सामग्री शाखाालाई नौ कट्टा आठ धुर, जनकपुर चुरोट कारखाना लिमिटेडलाई नौ कट्टा, राष्ट्रिय वाणिज्य बैंकलाई सात कट्टा १९ धुर, वायु सेवा निगमलाई नौ कट्टा १० धुर, नेपाल बैंक लिमिटेडलाई सात कट्टा १९ धुर, नेशनल ट्रेडिङ्ग लिमिटेडलाई १० कट्टा १६ धुर, घरेलु विकास समितिलाई ६ कट्टा १३ धुर र नेपाल औद्योगिक विकास कर्पोरेशनलाई ११ कट्टा हस्तान्तरण गरेको छ । जसमध्ये साझा संस्थान नेपाल राष्ट्र बैंक र गोश्वारा हुलाक कार्यालयको जग्गा रजिष्टे«सन पारित नभएको नगर विकास समितिको तथ्याङ्कमा उल्लेख छ ।

गोदाम क्षेत्रका लागि छुट्याइएको १३ विगाह सात कट्टा ६ धुर जग्गा मध्ये पाँच विगाह नौ कट्टा १३ धुर जग्गा वितरण भइसकेको समितिले जनाएको छ । समितिले गोदाम लाइनमा घरेलु सिल्प कला भण्डार, उद्योग वाणिज्य संघ, गोदाम घर, केवर्ड (हाल जिल्ला समन्वय समिति सुर्खेत), स्थानीय विकास सुर्खेत, साल्ट टेडिङ्ग कर्पोरेसन, नेपाल खाद्य संस्थान, कृषि खरिद विक्रि संस्थान, घरेलु मेडिकल वर्कशप, क्षेत्रिय बालहित समिति, क्षेत्रीय पौष्टीक आहार, क्षेत्रीय रेडक्रम गोदाम, श्री सत्यसाई केन्द्र, सुर्खेत उपत्यका नगर विकास समिति र बसपार्क लगायतलाई जग्गा बाँडेको छ ।

‘आवश्यक परे फिर्ता लिन्छौं’ 

यता सुर्खेत उपत्यका नगर विकास समितिले भने विगतमा बाँडिएको जग्गा आवश्यकता अनुसार फिर्ता लिन सकिने जनाएको छ । जग्गा वितरण गरिएको भए पनि पूर्जा आफूहरुसँगै रहेको भन्दै समितिले आवश्यकता पर्दा जग्गा फिर्ता लिन सकिने बताएको हो । नगर विकास समितिका वर्तमान अध्यक्ष नारायणकुमार कोईरालाले अब सहमतिका आधारमा जग्गाको व्यवस्थापन गर्नुपर्ने बताए ।

‘पहिलेका पदाधिकारीले बाँडेका रहेछन्, गुरुयोजना विपरित पनि जग्गा बाँडिएको देखिन्छ’ उनले भने,‘यो विषयमा पहिलादेखि बिबाद रहेको छ, हामीले चाहेर मात्रै हटाउन सक्ने अवस्था छैन । दलहरुबीच साझा सहमति आवश्यक छ, सहमति भएमा जग्गा फिर्ता ल्याउन सम्भव पनि छ ।’ उनका अनुसार विगत ८÷१० वर्ष पहिलेदेखि नै जग्गाको विषय विवादित बन्दै आएको छ ।

हचुवाको भरमा बाँडिएको नगर विकास समितिको जग्गा फिर्ता ल्याएर गुरुयोजना अनुसार वीरेन्द्रनगरको विकासमा लाग्नुपर्ने स्थानीयको सुझाव रहेको छ । यसका लागि नगरपालिकाका निर्वाचित जनप्रतिनिधिलेसमेत तत्काल ध्यान दिनुपर्ने सर्वसाधारणको माग छ ।

(क्रियाशील पत्रकार मञ्च नेपालका लागि)