☰ open Loading... 26 November 2024|  

प्रदेश ६ : मुख्यमन्त्रीको कार्यालय स्थापना
  | १९ माघ २०७४, शुक्रबार १४:१३

सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय स्थापना भएको छ । मध्यपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय रहेको भवनमा सो कार्यालय स्थापना गरिएको हो ।

माघ २१ गते बस्ने संसदको पहिलो अधिवेशनले आगामी फागुन २ गतेसम्म मुख्यमन्त्रीको टुङ्गो लगाउने सम्भावना रहेकाले एकसाता अघि नै मुख्यमन्त्रीको कार्यालय स्थापना गरिएको छ । साथै, शुक्रबार नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को मुख्य सचिवमा नियुक्त भएका क्षेत्रीय प्रशासक सुरेश प्रधान पदवहाली गरेका छन् ।

उनले अथाह सम्भावना बोकेको प्रदेश ६ को विकास लागि आफू कटिवद्ध रहेको जानकारी दिए । ‘यहाँ थुप्रै सम्भावना छन्, नीति निर्माण गरेर अघि बढे विकास गर्न सकिन्छ’ मुख्य सचिव प्रधानले भने,–‘आफ्नो कार्याकालमा साच्चै विकासको अनुभूति हुने खालका विकासका योजनाहरु निर्माण गर्नमा कटिवद्ध रहनेछु ।’ पर्यटन र जलस्रोतको प्रयोग गरे अन्य प्रदेशको तुलनामा आर्थिक रुपमा यो प्रदेश सवल हुने उनको तर्क थियो ।

शुक्रबार नै मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा दुई सचिवले समेत पदवहाली गरेका छन् । प्रशासन सचिवमा यज्ञराज बोहोरा र कानुन सचिवमा केशवराज आचार्यले कार्यभार सम्हालेका हुन् । प्रशासन सचिव बोहोराले अवको एक साताभित्रै अन्य मन्त्रालयहरुको व्यवस्थापन गरिसक्ने जानकारी दिए ।

७ मन्त्रालय रहने प्रदेश ६ मा कुन–कुन मन्त्रालयहरु कहाँ राख्ने भन्ने प्रतिवेदन तयार यसअघि नै टुङ्गीएकाले अवको एक सातामा सवै मन्त्रालयको व्यवस्थापन गरिने बोहोराको भनाई छ ।