☰ open Loading... 24 February 2025|  

पीडितद्वारा प्रहरीमा जातीय विभेद मुद्दा
  | २० माघ २०७४, शनिबार ०८:२४

अमर सुनार, दैलेख  ।

गुन्द्री छोएको निहुमा कुटिएका महाबु गाउँपालिका–२ डुंग्रीका ५५ वर्षीय पहलबहादुर कामीले आरोपित पक्ष सोही ठाउँका ४९ वर्षीय भीमबहादुर रोकाय र महाबु गाउँपालिका–१ खरिगैराका २६ वषीय नगेन्द्र खत्री बिरुद्ध जातीय विभेद तथा छुवाछूत सम्बन्धी मुद्दाको जाहेरी दिएका छन् ।

माघ १० गते आरोपित भीमबहादुरको घरमा काटेको खसीको लिन गएको बेला त्यहाँ पुगेर बस्न लाग्दा गुन्द्री छोएको निहुमा मरणासन्न हुने गरी कुटपिट गरेसंगै गाउँमा निरन्तर धम्क्याउने काम गरेको उल्लेख गर्दै पहलबहादुरले घटनाको १० औ दिन आज जिल्ला प्रहरी कार्यालय दैलेखमा जाहेरी दिएका हुन् ।

गुन्द्री छोएकै विषयमा सुरुमा कुट्दै आगनमा पछारेका र आगनबाट धकलेर तल्लो गडाको गहुँवारीमा खसाली सकेर पनि पेटमा घुँडाले टेकी छाति, मुख र टाउकोमा लात्ती र मुक्काले जताततै प्रहार गर्ने क्रममा दाहिने आँखामा लागेको चोट लगायतको चोटपटकको जिल्ला अस्तापलमा घाउजाँच गरिएको जाहेरीमा व्याख्या गरिएको छ ।

पहलबहादुरले आरोपित पक्षले कुटपिट गरिहेको बेला त्यही भएका सोही ठाउँका शिक्षक पूर्णप्रसाद उपाध्याय र कुमार नेपालीले छुट्टयाएर मात्र ज्यान जोगाउन सकेको बताइएको छ । गहुँबारीमा उत्तानो पारेर कुट्दै गर्दा शिक्षक पूर्णप्रसाद र छिमेकी कुमार नेपालीले जोगाएर घरमा पु¥याइदिएका उल्लेख गरिएको छ ।

घटनाको तेश्रो दिन माघ १२ गते जिल्ला प्रहरी कार्यालय मार्फत दैलेख जिल्ला अस्पतालमा पुगी घाउजाँच गराएको र पीडक पक्षलाई छलफलका लागि झिकाई दिन ठाडो निवेदन दिएको विषयलाई लिएर अहिले पनि धाकधम्की दिएको कारण जातीय विभेद तथा छुवाछूत सम्वन्धी मुद्दा दिन बाध्य भएको पहलबहादुरले जोहरीमा व्यहोरा उल्लेख गरिएको छ ।

कुटपिटबाट घाइते भएकै अवधिमा पहलबहादुरकी पत्नी ५४ वर्षीया रत्नादेबी कामीको माघ १६ गते झाडापखालाबाट मृत्यू भएको छ । घरमा काजक्रियामा जुटिरहेको अवस्थामा पनि तनाव दिने र अझैं कुटपिटको धम्की दिएको कारण जोहरी दिएको पीडितको भनाई छ ।

जाहेरी प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालयले घटना स्थलको मुचुल्का गराउन गैडाबाज प्रहरी चौकीलाई निर्देशन गरिसकेको दैलेखका प्रहरी प्रमुख डीएसपी सरोज पौडेलले जानकारी दिए ।

प्रहरीमा जाहेरी बुझाएको थाहा पाएपछि वडा नं. १ का वडाध्यक्ष हरिप्रसाद उपाध्याय लगायतका राजनीतिक नेतृत्वले पीडित पक्षलाई मेलमिलाप गराउन दवाव दिएको पहलबहादुरका जेठा छोरा कृष्णबहादुर नेपालीले बताए ।

‘जातीय भेदभाव तथा छुवाछूत कसूर र सजाय ऐन २०६८’ बमोजिम कडा कारवाही गरिदिन जाहेरीमा माग गरिएको छ । सो ऐन अनुसार जातीय विभेद गरेको मुद्दामा १ महिनादेखि ३ वर्षसम्म कैद वा ५ सय रुपैंयाँदेखि २५ हजार रुपैंयाँसम्म जरिवाना वा दुबै सजाय हुन सक्ने कानूनी व्यवस्था छ । ऐनले पीडितलाई १ लाख रुपैंयाँ क्षतिपूर्ति भराउने समेतको प्रावधान छ ।