☰ open Loading... 18 April 2024|  

पाँच वर्षमा पनि बनेन पुल
  | २० माघ २०७४, शनिबार १७:४८

अछाम  । जिल्लाको बूढीगंगा नदीमा निर्माणाधीन चित्रे पुल पाँचवर्ष पुग्न लाग्दासमेत पूरा हुन सकेको छैन । २०७० साल भदौमा सम्झौता भई २०७२ साल असारमा पुल बनाइसक्ने सम्झौता भएको थियो । तर सय मिटर लम्बाईको उक्त पुलका दुई वटा पिल्लर अझै अधूरै छन् ।


पुल निर्माणको जिम्मा पाएको स्थानीय नन्देगडा तुलसी दुर्गा जेभीसँग २४ महिनाभित्र पुल बनाइसक्ने गरी सम्झौता भएको थियो । तर सम्झौता भएको ५२ महिना पुग्दा पनि ५० प्रतिशत काम भएको छैन । नन्देगडा तुलसी जेभीका सञ्चालक रामबहादुर बुढा भने पुलको काम ७० प्रतिशत सकिएको दाबी गर्छन् । कामअनुसार पौने ३ करोड रुपैयाँ भुक्तानी भएको छ । अझै कामअनुसार ६० लाख भुक्तानी बाँकी छ,’ उनले भने, ‘यसमा ठेकेदारको मात्र लापरवाही भन्न मिल्दैन ।’

यता जिल्ला समन्वय समितिका संयोजक नरबहादुर कुँवर जिविसले पटकपटक ताकेता गर्दा पनि ठेकेदारको सुस्त कामले पुल पूरा हुन नसकेको बताउँछन् । ठेकेदारले पुल निमार्णका लागि चाहिने सामग्री व्यवस्थापन गर्न नसक्दा काम कछुवाको गतिमा भएको बताउँदै उनले अब पुल निर्माणलाई पूर्णता दिन आफू लागिपर्ने जानकारी दिए ।

पुल बनेपछि त्रिवेणी, रामारोशन, खप्तड, वैद्यनाथ, पञ्चदेवललगायत पर्यटकीय क्षेत्र भ्रमणमा आउनेहरूलाई सहज हुने स्थानीयवासी बताउँछन् । चित्रे पुल सेती लोकमार्ग र मध्यपहाडी लोकमार्गसँग जोडिएको छ । तर पुल निर्माणका लागि सरोकारवाला, राजनीतिक दलसँग पटकपटक गुनासो गर्दासमेत वेवास्ता गरेको स्थानीयवासीको गुनासो छ ।

स्राेतः जनतापाेस्ट