सुर्खेत । प्रदेश नम्बर ६ मा प्रदेश सभाको ऐतिहासिक पहिलो वैठक सम्पन्न भएको छ । वीरेन्द्रनगरमा आइतबार दिउसो १ बजे बसेको बैठक सभामुखको निर्वाचन सम्वन्धी प्रस्ताव पारित गर्दै सम्पन्न भएको हो ।
पहिलो बैठकले सभामुखको निर्वाचन सम्वन्धी निर्णायार्थ प्रस्ताव सर्वसम्मत पारित गर्दै माघ २९ गते निर्वाचन गर्ने मिति तय गरेको छ । जेष्ठ सदस्य हिमबहादुर शाहीको अध्यक्षतामा सम्पन्न बैठकले माघ २९ गते दिउसो १ बजेका लागि बैठक आह्वान गरेको छ ।
उक्त बैठकबाट सभामुखको चयन हुनेछ । पहिलो बैठकले प्रदेश सभा कार्य सञ्चालन अन्तरिम कार्यविधि २०७४ समेत सर्वसम्मत पारित गरेको छ ।
बैठकमा बोल्ने सांसदहरुले प्रदेश ६ को समृद्धिका लागि एकजुट हुने प्रतिवद्धता जनाएका छन् । उनीहरुले गरिवी, रोग, भोग र अभावका नारा लगाएर मात्रै समृद्ध प्रदेश बनाउन नसकिने भन्दै सम्भावनाहरुको पहिचान गर्नुपर्ने उल्लेख गरे ।
बैठकमा एमाले सांसद यामलाल कँडेल, माओवादीका महेन्द्रबहादुर शाही, काँग्रेसका जीवनबहादुर शाही र राप्रपाका शोसीला शाहीले धारणा राखेका थिए । पहिलो बैठकमा सहभागी हुन पाउँदा सांसदहरु उत्साहित देखिन्थे । करिव एक घण्टासम्म सञ्चालन भएको बैठकपछि सांसदहरुले आफसमा सामुहिक तस्वीरहरु खिचेर खुसी साटासाट समेत गरेका थिए ।