☰ open Loading... 25 November 2024|  

६ नम्बर प्रदेश नबने नेपाल बन्दैनः प्रभाकर
  | २३ माघ २०७४, मंगलवार १७:४५

सुर्खेत । प्रतिनिधी सभा सदस्य जनार्दन शर्मा प्रभाकरले ६ नम्बर प्रदेश बनाउनका लागि अब बन्ने सरकारले कालिगढको काम गर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल ६ नम्बर प्रदेशले सुर्खेतको वीरेन्द्रनगमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै रुकुम पश्चिमबाट प्रतिनिधी सभा सदस्यमा विजयी शर्माले यस्तो बताएका हुन् ।

यो प्रदेशको अथाह सम्भावनालाई सुनका डल्लाको संज्ञा दिँदै पुर्व मन्त्री शर्माले यी सुनको डल्लाबाट चाहेको गहना बनाउने काम अबको सरकारले गर्ने दाबी गरे ।

कुनै व्यक्तिगत लाभ नराखी भ्रष्टाचार अनि कमिसनका विरुद्ध लडेर काम गरे यो प्रदेश दश वर्षमा नम्बर १ प्रदेश बन्ने ठोकुवा उनको छ ।
देशकै गरिब प्रदेशको रुपमा चिनिएको प्रदेश नम्बर ६ लाई धनी बनाउने काम अब सबैको साझा चुनौति रहेको प्रतिनिधी सभा सदस्य शर्माको भनाई छ ।

यो प्रदेशमा विद्यमान समस्याको सामना गर्नका लागि आफुहरु चुनिएको भन्दै उनले दुई वर्ष अगाडि आफुले निर्माण गरेको खाकालाई व्यवहारमा उतार्ने बेला आएको धारणा राखे ।

कुनै दल नभनी सबै मिलेर उत्कृष्ट प्रदेश बनाउनतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने शर्माको भनाई छ । ६ नम्बर प्रदेशको विकास नभएसम्म समग्र नेपालको विकास नहुने उनको जिकीर थियो ।

सरकार गठनको विषयमा पत्रकारले राखेको जिज्ञासको जवाफ दिँदै सदस्य शर्माले निर्वाचन आयोगले प्रतिनिधीसभाको नतिजा सार्वजनिक नगर्दा सरकार गठनमा ढिलाई भएको बताए ।

फागुन ५ गतेभित्र आयोगले नतिजा सार्वजनिक गर्ने बताएको भन्दै उनले केपी शर्मा वली नेतृत्वको सरकार बन्ने बताए । गत मंशीरको निर्वाचनमा एउटै घोषणापत्र बनाएर आफुहरु अघि बढेको बताउँदै शर्माले अनौपचारिक रुपमा पार्टी एकता भईसकेको टिप्पणी गरे ।

२८ साल देखि फरक विचार धाराका दुई पार्टी मिल्नलाई अन्य धेरै कुराहरु मिलाउनुपर्ने भएकाले पनि केही ढिलाई भएको भन्दै उनले पार्टी एकताका विषयमा दुई पार्टीमा नै सकारात्मक छलफल भईरहेको बताए ।

फागुन दोस्रो हप्ताभित्र नै सरकार गठन हुने भन्दै शर्माले त्यसपछि पार्टी एकीकरणलाई औपचारिकता दिने र कार्यविभाजनसँगै अन्य धेरै कुराहरु मिलाईने जानकारी दिए । पार्टी एकीकरण छिट्टै हुने दाबी गर्दै सदस्य शर्माले जनताको सपनाको मृत्यु नहुने जिकीर गरे ।

भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणले वाम एकतामा कुनै असर पर्ने हो की ? भन्ने पत्रकारको प्रश्नमा उनले यो विषय भारत सरकारको नभएको बताए । आफ्नो निर्णय आफै गर्ने क्षमता नेपालसँग भएको भन्दै सदस्य शर्माले भारतीय विदेशमन्त्री सुष्मा स्वराजको भ्रमणले वाम एकतामा कुनै प्रभाव नपर्ने स्पष्ट पारे ।