☰ open Loading... 25 November 2024|  

प्रदेश ६ मा शतप्रतिशत मत खस्यो
  | २४ माघ २०७४, बुधबार १६:०२

सुर्खेत । राष्ट्रिय सभा निर्वाचन अन्तरगत प्रदेश नम्बर ६ मा शतप्रतिशत मत खसेको छ । बुधबार सम्पन्न मतदानमा १९८ जना मतदाताले नै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।


वीरेन्द्रनगरस्थित जिल्ला निर्वाचन कार्यालयमा भएको मतदानमा प्रदेश ६ का ७९ स्थानीय तहका प्रमुख र उपप्रमुख तथा प्रदेश सभाका ४० जना सांसदहरुले मतदान गरेका हुन् । विहान १० बजेबाट शुरु भएको मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।

प्रदेश ६ बाट ८ जना निर्वाचित हुनेछ । जसका लागि एमालेका ५, माओवादीका ३ र कांग्रेसबाट ४ जना गरी १२ जना उम्मेदवार छन् । मतदानमा सहभागी भएका मतदाताहरुले विधायकको काम गर्ने प्रदेश सभा सदस्यहरुले निर्वाचित पश्चात निर्णायक भूमिका निर्वाह गर्नेमा विश्वास व्यक्त गरेका छन् ।

यसअघि स्थानीय तह र प्रदेश सभामा निर्वाचित जनप्रतिनिधी र सांसदहरु बुधबार मतदाताका रुपमा सहभागी हुँदा उत्साहित बनेका थिए । उनीहरुले आफ्नो मत प्रदेशको समृद्धि र देशमा संघियता कार्यान्वयनमा महत्वपूर्ण हुने विश्वास व्यक्त गरे ।

यसैविच आज बेलुकीबाट शुरु भएको मतगणना अन्तिम परिणाम भोली विहानसम्म सार्वजनिक गरिने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।