| २५ माघ २०७४, बिहीबार १२:००
अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं ६ दुनीमा एक स्थानीयवासीले आफ्नै लगानीमा खानेपानीको धारा निर्माण गरेका छन् ।
स्थानीय तुले साउदले चौखुट्टे बजारबाट दुनी जाने बाटोमा रहेको सिमशैलीमा आफ्नो व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरिएकाे हाे ।
करिब रु ८० हजार व्यक्तिगत लगानीमा खानेपानीको धारा निर्माण गरेको साउदले बताए । पानीको मुहान संरक्षण गर्न तथा आउने जाने बटुवा र स्थानीयवासीलाई पानी पिउन सहज होस् भन्ने उद्देश्यले धारा निर्माण गरिएको हो ।
साउदले धारा निर्माण गरेपछि स्थानीयवासीलाई नुहाउन र बटुवालाई पानी पिउनसमेत निकै सहज भएको स्थानीयवासी भानसिंह साउदले बताए । यस्तै उक्त कार्यले पानीको मुहान संरक्षणमा समेत टेवा पुगेको छ ।