बुद्धिमान पुन
सल्यान । जिल्ला अस्पताल सल्यानमा जीन एक्स पर्ट मेसिन सञ्चालनमा आएको छ । खकार जाँच गरी क्षयरोग/टिबि पत्ता लगाउन प्रयोग गरिने जीन एक्स पर्ट मेसिन आईबार देखी सञ्चालनमा आएको हो । यस मेसिन नहुदाँ यहाँका नागरिक महंगो शुल्क तिरेर दाङ, बुटवल, नेपालनञ्ज जानु पर्ने बाध्यता रहेको थियो ।
जिल्ला अस्पतालमा यस प्रकारको मेसिन सञ्चालनमा आए संगै नागरिकलाई सजिलो भएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले जानकारी दिए । ‘अस्पतालमा माईक्रोस्कोप पहिले पनि थियो, त्यसको माध्यम बाट सेवा प्रबाह गर्दै आएका थियौँ, अहिले जीन एक्स पर्ट मेसिन जडान भए पछि सजिलो भएको छ’– उनले भने ।
माईक्रोस्कोप बाट पनि पहिले खकार जाँच गर्ने गरेको बताउदैँ उनले यस बाट परिक्षण गर्दा खासै प्रभाबकारी नहुने बताए । ‘थोरै मात्रामा किटानु हुदाँ पनि रोग पत्ता लाग्छ’ उनले थपे –‘खकार राखेको दुई घण्टामा नै रिपोर्ट निक्लन्छ ।’
बिराट नेपाल मेडिकल ट्रष्टले जिल्ला अस्पताल सल्यानलाई जीन एक्स पर्ट मेसिन सहयोग गरेको हो । ‘सल्यानमा क्षयरोग टिभिका बिरामीहरु धेरै रहेछन्, उनीहरुले बाहिरी जिल्ला गएर टिबिको आशंका लागेमा चेकजाँच गर्नु पर्ने बाध्यता रहिछ, त्यसैले २० लाख बराबरको मेसिन उपलब्ध गराएका हौँ’– बिराट नेपाल मेडिकल ट्रष्ट गगांराम बुढाथोकीले बताए ।
जिल्लामा क्षयरोग (टिबि) का बिरामीहरु बढ्दै गएका छन् । अध्याधिक मात्रामा धुम्रपान गर्नु, गरिबी हुनु लगाएतका कारणले पनि जिल्लामा क्षयरोगका बिरामीहरु बढ्दै गएका हुन् । जिल्ला अस्पताल सल्यानका क्षयरोग÷कुष्ठरोग अधिकृत लक्ष्मण केसीले यस आर्थिक बर्षको अहिले सम्म मात्रै क्षयरोगका ६६ जना बिरामी भेटिएको बताए ।
उनले ती सबैले अहिले नियमित रुपमा औषधि सेवन गरिरहेको बताए । ‘यहाँ क्षयरोगका बिरामीहरु धेरै छन्, कती त समस्या लुकाएर पनि अस्पताल कहाँ नआउनु भएको होला’ –उनले भने । उनले गत आर्थिक बर्षमा २ सय जना क्षयरोगका बिरामी भेटिएका थिए ।
‘गत बर्ष २ सय जना क्षयरोगका बिरामीहरु भेटिएका थिए, ती मध्ये १ सय ८८ जनाले औषधि सेवन गरेर निको भए, बाँकीले औषधि सेवन गरिरहेका छन्’– उनले भने । क्षयरोग पत्ता लागेको बिरामीहरुले अहिले बिभिन्न स्वास्थ्य संस्थाहरु मार्फत औषधि सेवन गरिरहेका छन् ।