☰ open Loading... 24 November 2024|  

प्रदेश ६ : उपसभामुख घर्तीद्वारा शपथ ग्रहण
  | ५ फाल्गुन २०७४, शनिबार १७:२०

तीन निर्णय गर्दै सकियो तेस्रो बैठक

सुर्खेत ः प्रदेश नम्बर ६ को शनिबार बसेको तेस्रो प्रदेशसभा बैठकले तीन वटा निर्णय गर्दै सकिएको छ । सभामुख राजबहादुर शाहीले अध्यक्षता गरेको पहिलो बैठकले उपसभामुखमा माओवादी केन्द्रका सांसद पुष्पा घर्ती विष्टलाई निर्विरोध निर्वाचित गरेको छ ।

सांसद धर्मराज रेग्मीले उपसभामुख पदमा निर्वाचित गरियोस् भनी गरेको प्रस्तावलाई अर्का सांसद मीना रखालले समर्थन जनाएपछि सभामुख शाहीले घर्तीलाई उपसभामुखमा निर्विरोध निर्वाचित भएको घोषणा गरेका थिए ।

उपसभामुख पदमा अरु कसैको पनि उम्मेदवारी नपरेपछि घर्ती निर्विरोध भएकी हुन् । उपसभामुखमा निर्वाचित घर्तीलाई सभामुख राजबहादुर शाहीले शपथ ग्रहण शनिवार नै गराएका थिए ।

बैठकले प्रदेशसभाले सभामुख र उपसभामुखको अनुपस्थितिमा बैठक सञ्चालन गर्न पाँच जना सदस्यलाई मनोनीत गरेको छ । सभामुख शाहीले सांसदहरु गणेशप्रसाद सिंह, दिनबन्धु श्रेष्ठ, पदमबहादुर रोकाय, राजु नेपाली र सोशीला शाहीलाई मनोनीत गरेकोमा यसलाई सभाले पारित गरेको छ ।

प्रदेशसभा नियमावली मस्यौदा समिति गठन समेत गरिएको छ । सांसद अमरबहादुर थापाले आठ जना सदस्य रहनेगरी मस्यौदा समिति गठन गर्ने प्रस्ताव संसदमा प्रस्तुत गरेका थिए । जसमा दलबहादुर रावल, दीनबन्धु श्रेष्ठ, धर्मराज रेग्मी, प्रकाश ज्वाला, मिनासिंह रखाल, यज्ञबहादुर बिसी, सीताकुमारी नेपाली र सोशीला शाही रहेका छन् ।

सदस्यहरुले आफूमध्येबाट एक जनालाई सभापति चयन गर्ने जनाइएको छ । समितिको अवधि १५ दिन तोकिएको छ । सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रतिनिधि सांसदहरुले प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री, सभामुख र उपसभामुखलाई बधाई ज्ञापन समेत गरेका छन् । प्रदेशसभाको अर्को बैठक फागुन ९ गते दिउँसो १ बजे बस्नेछ ।