☰ open Loading... 3 May 2024|  

प्रदेशकै नमुना अस्पताल बनाउने प्रदेश सरकारको प्रतिवद्धता
  | ७ फाल्गुन २०७४, सोमबार १७:२४

सुर्खेत । प्रदेश नम्बर ६ को अस्थायी राजधानी सुर्खेतमा रहेको क्षेत्रीय अस्पतलालाई प्रदेशकै नमुना अस्पताल बनाउने प्रतिवद्धता प्रदेश सरकारले जनाएको छ । अस्पतालको १२ औं स्थापना दिवसमा पुगेका मुख्यमन्त्री, सामाजिक विकास मन्त्रालयका मन्त्री लगायतहरुले नागरिकहरुलाई स्वास्थ्य सम्वन्धी सेवा लिन बाहिर जानु पर्ने झन्झटको अन्त्य गर्ने प्रतिवद्धता जनाएका हुन् ।


०६२ साल फागुन ७ गते स्थापना भएको अस्पतालले १२ वर्षको अवधिमा आवश्यक भौतिक पूर्वाधार र अस्पतालको स्तरोन्नती गरेको मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतका मेसु डा. डम्बर खड्काले जानकारी दिए । उनले नागरिकहरुलाई प्रभावकारी सेवा दिन सवैको साथ र समर्थनले यहाँसम्म आइपुगेको बताए ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले १२ वर्षसम्म अस्पताल जुन गतीमा आइपुग्यो यहाँसम्म पु¥याउने सवैलाई धन्यवाद दिए । उनले आगामी दिनमा अस्पताललाई प्रदेशकै नमुना अस्पताल बनाउनतर्फ प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता पनि जनाए । तर शाहीले अस्पताल कुपोषित नरहेको भन्दै आवश्यक स्रोत साधन परिपूर्ति गर्नमा प्रदेश सरकार लाग्ने भएकाले सवैको साथ रहेको बताए ।

सामान्य प्रकृतिका विरामीहरु स्वास्थ्य सम्वन्धी सेवा लिन नेपालगञ्ज वा बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको मेसु खड्काले बताए । अस्पतालमा हाल आइसीयु, एक्सरे, डाइलासिस लगायतका सेवाहरु सञ्चालनरत छन् । सामाजिक विकास मन्त्रालयका मन्त्री दलबहादुर रावतले अन्य अस्पतालका विज्ञहरुलाई सुर्खेत ल्याउने र यहाँका विज्ञहरु बाहिर जाने परिपाटीको थालनी गर्ने प्रतिवद्धता जनाए ।

हुम्लादेखी सुर्खेत र जाजरकोटदेखी अछामसम्म नागरिकले स्वास्थ्य सेवा लिँदै आएको अस्पतालमा ४१ जनाको अझै दरवन्दीको अभाव छ । जटिल प्रकृतीको विरामीहरुको सेवा सुर्खेतमै दिन सरकारले आवश्यक नीति बनाएर केन्द्र सरकारसंग समन्वय गरेर अघि बढ्ने तयारीमा प्रदेश सरकार जुट्ने रावलको भनाई छ । गत आर्थिक वर्षमा मात्रै क्षेत्रीय अस्पतालबाट १ लाख ९७ हजार नागरिकले सेवा लिएका छन् ।

५० शैयाको स्वीकृती भएको अस्पतालले बढाएर ११५ शैयाबाट सेवा प्रवाह गरिरहेको छ । निर्माणाधिन भवनको काम सम्पन्न भए क्षेत्रीय अस्पताल ३५० शैयाको हुनेछ । जनशक्ति अभाव परिपूर्ति गर्ने र आवश्यक स्रोत साधनहरु थप्न प्रदेश सरकारले पहली प्रयास समेत थाल्ने बताएको छ ।

यसैविच, १२ औं स्थापना दिवसमा पूर्वगृहमन्त्री पूर्णबहादुर खड्का, डा. डम्बर खड्का, विष्णुबहादुर खड्काले आमावुवाको नाममा ५० लाखको अक्षयकोष स्थापना गरेका छन् ।

विपन्न समुदायका नागरिकले आर्थिक अभावबाट बञ्चित नहुँन भन्दै अक्षय कोषको रकमबाट ति नागरिकहरुको उपचारार्थ खर्च गर्ने हेतुले स्थापना गरिएको डा. खड्काले जानकारी दिए । स्थापना दिवसमा उत्कृष्ट कर्मचारी शेरबहादुर खड्का र चन्दादातालाई सम्मान गरिएको थियो ।