☰ open Loading... 23 December 2024|  

हात्तिपाईले रोगको संक्रमण नघटेपछि फेरी औषधी खुवाईने
  | ९ फाल्गुन २०७४, बुधबार १८:४८

दाङ । हात्तिपाईले रोगको संक्रमण दर नघटेपछि दाङमा फेरी पनि औषधी खुवाईने भएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय दाङको आयोजनामा आज घोराहीमा भएको हात्तीपाईले रोग निबारण सम्बन्धी अभिमुखीकरण कार्यक्रममा जनस्वास्थ्य कार्यालयका मलेरीया निरीक्षक कमल चन्दले हात्तिपाईले रोगको संक्रमण दर नघटेपछि दुई बर्ष थप गरिएको जानकारी दिए ।

दाङको कुल जनसंख्याको ६ प्रतिशत नागरिकहरुमा हात्तिपाईलेको संक्रमण रहेको बताउदै चन्दले दाङका करिब ६ हजार नागरिकमा हात्तिपाईलेको संक्रमण देखिएको जानकारी दिए ।

६ बर्ष सम्म नियमित औषधी खुवाउने कार्यक्रमले संक्रमणको दर नघटेपछि फेरी दुई बर्ष थप गरिएको र यो आठौँ बर्षको अभियान भएको जिल्ला जनस्वास्थ्य कार्यालयले बताएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयले यही फागुन १२, १३ र १४ गते जिल्लाभरी नै हात्तिपाईले रोग विरुद्धको औषधी खुवाउने कार्यक्रम रहेको समेत जनाएको छ ।

यहि १२गते सबैलाई पायक पर्ने स्थानमा र १३ र १४गतेका दिन घरदैलोमा नै पुगेर करिब ६ लाख नागरिकलाई औषधी खुवाउने लक्ष्य लिईएको र करिब २४ सय स्वयमसेवक र स्वास्थ्यकर्मी परिचालन गर्ने योजना रहेको चन्दले जानकारी दिए ।

एक बर्ष पहिले दाङका साविक रामपुर, सिसहनिय र टरिगाउँमा गरिएको परिक्षणमा ८० जनामा हात्तिपाईलेको संक्रमण भेटिएको थियो । सरकारले दाङमा हात्तिपाईले रोगको संक्रमण दर २ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ ।

औषधी २ बर्ष मुनिका बालबालिका, गर्भवती, सात दिनको सुत्केरी, सिकीस्त बिरामीले खान नहुने स्वास्थ्यकर्मीहरुले बताएका छन् । साथै औषधी खाली पेट नखान समेत उनिहरुले आग्रह गरेका छन् ।

यसैगरी जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलका अनुसार,हात्तिपाईले रोगका कारणपनि हाईड्रोसियल हुने भएकाले अहिले राप्ती उपक्षेत्रिय अस्पताल र राप्ती अंञ्चल अस्पतालमा निशुल्क रुपमा हाईड्रोसिलको शल्यक्रिया गरिने बताए ।

शरिरमा हात्तिपाईले रोगको जिवाणु रहेका ब्यक्तिले औषधि सेवन गरेपश्चात सामान्य केहि लक्षणहरु देखीने हुदा नआत्तिन पनि जनस्वास्थ्य कार्यालयका प्रमुख घनश्याम पोख्रेलले सबैमा अनुरोध गरे ।