☰ open Loading... 18 November 2024|  

शैक्षिक सत्र शुरु भइसक्दा पुगेन पाठ्य पुस्तक
  | १३ फाल्गुन २०७४, आईतवार १६:२७

डोल्पा । नयाँ शैक्षिक सत्र शुरु भई विद्यालय खुलेको दुई साता बित्न लाग्दासमेत डोल्पाका बालबालिकाको हातमा किताब पुगेको छैन ।

फागुनको पहिलो साता साझा प्रकाशन र निजी क्षेत्रको बिक्रेताबाट डोल्पाका लागि किताब बुझेका सातवटा स्थानीय एजेन्टले अझै विद्यालयमा किताब पुर्याउन नसकेको जिल्ला शिक्षा कार्यालय डोल्पाले जनाएको छ ।

सबैभन्दा पहिले किताब मुड्केचुला गाउँपालिकाको कालिका र नर्कूमा पुगेर आइतबारदेखि वितरण गरिने स्थानीय एजेन्ट लंकबहादुर रोकायाले जानकारी दिए । त्यसैगरी दुनै र फोक्सुण्डोको जिम्मा लिएका विष्णुलाल बुढाले पनि दुनैसम्म किताब पुर्याएका छन् । अर्का स्थानीय बिक्रेता पूर्णप्रसाद न्यौपानेले आइतबारबाटै किताब वितरण हुने बताए ।

जिल्लाका विभिन्न क्षेत्रका लागि सातवटा स्थानीय एजेन्टले ढुवानी गर्ने भए पनि कति जनाले विद्यार्थीको हातमा किताब पारे भन्ने जानकारी नदिएको तर कार्यालय निरन्तर पहलमा लागिरहेको निमित्त जिल्ला शिक्षा अधिकारी सिंहराज डांगीले बताए ।

शैक्षिक सत्र ०७५ का लागि डोल्पा जिल्लामा नौ हजार ७ सय ९१ थान किताब स्थानीय एजेन्टले ढुवानी गर्नुपर्ने छ । जनक शिक्षा सामग्री र निजी क्षेत्रले डोल्पा जिल्लाका कक्षा १ देखि १० सम्मका विद्यार्थीका लागि किताब वितरण गर्ने जिम्मा लिएको जनक शिक्षा सामग्री क्षेत्रीय प्रमुख रवीन्द्र शर्माले बताए ।

कक्षा १ देखि ५ सम्म निजी क्षेत्रले र कक्षा ६ देखि १० सम्म जनक शिक्षा सामग्री आफैले जिल्लामा किताब वितरण गर्ने जिम्मा लिएको छ । यस वर्ष डोल्पा जिल्लामा कक्षा १ देखि ५ सम्म ६ हजार १ सय ४६, कक्षा ६ देखि ८ सम्म दुई हजार २ सय १६, त्यसैगरी कक्षा ९ देखि १० सम्म एक हजार ४ सय २९ गरी जम्मा नौ हजार ७ सय ९१ थान किताब जिल्लाका विद्यालयमा ल्याउनुपर्ने हुन्छ ।