☰ open Loading... 18 November 2024|  

तुलसीपुरमा सार्वजनिक ठाउँमा व्यापार गर्न रोक, ठेला व्यापारी र स्थानीय प्रशासनबीच झडप
  | १४ फाल्गुन २०७४, सोमबार १३:२९

दाङ  ।  तुलसीपुर उपमहानगरले सार्वजनिक स्थानमा व्यापार गर्न नदिने नीति अवलम्बन गरेको छ। बजारका चोक र सार्वजनिक स्थानमा गरिँदै आएको व्यापारले बजारको शोभा घटेको, दुर्घटनाको जोखिम बढेको तथा सडक अस्तव्यस्त बनेको भन्दै सडक व्यापार हटाउन सुरू गरिएको मेयर घनश्याम पाण्डेले जानकारी दिए।

तुलसीपुर बजारलाई व्यवस्थित बनाउने भन्दै उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत सडक पेटी, सार्वजनिकस्थल र चोकमा बजार नगर्न आग्रह गर्दै आएको छ। तर त्यति गर्दा पनि अटेर गरेर सार्वजनिक स्थानमा ठेला राखेर व्यापार गर्नेहरूको ठेला जफत अभियान सुरू गर्नु परेको मेयर पाण्डेले बताए।

‘हामीले सार्वजनिक सूचना जारी गर्यौं, हटाउन आग्रह पनि गर्यौं, तर अटेर गरेपछि बाध्य भएर ठेला जफत अभियान थालेका हौं,’ मेयर पाण्डेले भने।

आगामी दिनमा पनि ठेला र सार्वजनिकस्थलमा व्यापार गर्नेहरूमाथिको कारवाही तीव्र पारिने उनले बताए। उपमहानगरपालिकाले पटक(पटक सार्वजनिक सूचना जारी गरेर जानकारी गराउँदा पनि बेवास्था गरिएको हुँदा बाध्य भएर सडक र बजारमा व्यापार गर्नेहरूका सामान जफत गर्नु परेको मेयर पाण्डेले जानकारी दिए।

उपमहानगरपालिकाका वित्तीय अधिकृत ललितबहादुर घर्तीले पटकरपटक आग्रह गर्दा पनि अटेर गरेर बाटो नै अवरोध हुनेगरि ठेला राख्नेहरूको ठेला जफत गरेको बताए। तुलसीपुर उपमहानगरपालिकाले तुलसीपुरलाई व्यवस्थित गर्नका लागि बजार व्यवस्थापन कार्यविधि निर्माण गरेर काम गर्दै आएको घर्तीले बताए।

यसैबीच, ठेला जफत गर्ने क्रममा कर्मचारी र ठेला व्यवसायीबीचमा हातपात समेत भएको छ। उपमहानगरपालिकाका स्वीपर रामप्रसाद चौधरीमाथि स्थानीय ठेला व्यापारीले हातपात गरेको घर्तीले जानकारी दिए।

‘थोरै लगानी भएका हामी जस्ता व्यक्ति पनि गरिखान पाउनुपर्छ,’– एकजना ठेला व्यापारी मोहम्मद यादवले भने, ‘हामीलाई व्यवस्थित गरी एकै ठाउँमा राख्न पनि नसक्ने तर हाम्रो सामान जफत गर्ने कुरा स्वीकार्य हुँदैन।’

उनले ठूला व्यापारी र दलालको उक्साहटमा लागेर साना व्यापारीमाथि हातपात गर्ने, सामान जफत गर्ने कार्यमा मेयरले साथ दिएको भन्दै आलोचना गरे।

यसैबीच उपमहानगरले बाटोमा राखिएका सामान र भर्‍याङ हटाउन समेत निर्देशन दिइसकेको छ। ‘कतिपयले अटेर गरिरहेका छन् ,अटेर गर्नेलाई हामीले कारबाहीका साथै भत्काउने कामलाई तीव्रता दिनेछौं’ प्रमुख प्रशासकीय अधिकृत टोपेन्द्रबहादुर केसीले भने।

उनले नगरपालिकाले तोके विपरीत ठाउँ ओगटेर जुनसुकै काम गरेको भए पनि त्यसलाई तत्काल हटाउने बताए।