☰ open Loading... 18 November 2024|  

भारतले महाकालीमा अनुमति बिना बनायो बाटो र पुल
  | १६ फाल्गुन २०७४, बुधबार १७:२०

दार्चुला । कालापानी र लिपुलेक सीमा अतिक्रमणको विरोध भइरहेको बेला भारतले महाकाली नदीमा एकतर्फी पुल बनाएको छ । नेपालको अनुमति बिना नेपाली भूमिमा बाटो समेत बनाएको छ ।

भारतले व्यास गाउँपालिका–२ ताम्पाकु, लखनपुर, घाटबगर र माल्पा तथा दोपखे र लामारी जोड्ने पुल बनाएको छ । घाटबगर, दोपखे, नज्यगं क्षेत्रमा काठेपुल समेत निर्माण गरेको छ । भारतले विभिन्न निर्माण सामाग्री एक ठाउँबाट अर्को ठाउँमा लग्न पुल प्रयोग गर्दै आएको छ ।

व्यास गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष धीरनसिंह बुढाथोकीले भारतले नेपालसँग अनुमति नलिइ पुल निर्माण गरेको बताए । अध्यक्ष बुढाथोकीका अनुसार चभारतले अनुमति बिना नेपाली भूमिमा २ किलोमिटर गोरेटो बाटो निर्माण गरिसकेको छ ।

भारतले महाकाली किनारको नेपाली भूमि प्रयोग गरेर डोजरलगायत निर्माण उपकरण ढुवानी गर्न जिल्ला प्रशासनसँग अनुमतिको लागि पत्रचार गरेको थियो । प्रशासनले यसबारे गृह मन्त्रालयलाई पत्राचार समेत गरेको छ । तर भारतले गृहको निर्णय तथा अनुमति नआउँदै पुल निर्माण गरेर सामान ढुवानी गर्न थालेको हो ।

प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले सीमा नदीमा भारतले पुल बनाएको खबर आएपछि त्यस बारेमा स्थलगत अवलोकन गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटाइएको बताए ।