रूकुम । पर्यटकीय क्षेत्रको रूपमा विकासित मुसिकोट डाँडाको आम्दानी बढ्दै गएको छ । मुसिकोटडाँडामा घुम्न आउनेहरूबाट मुसिकोटडाँडा उद्यान समितिले रकम संकलन गर्दै आएको छ ।
भदौ महिनादेखि थालिएको उक्त अभियानबाट हालसम्म ५३ हजार सात सय ३५ रुपैयाँ संकलन भएको छ । उनका अनुसार शुल्क लिन थालिएको भदौ महिनामा चार हजार छ सय ४०, असोज महिनामा नौ हजार पाँच सय ७०, कात्तिकमा आठ हजार नौ सय ६०, मंसिरमा आठ हजार आठ सय ६०, पुसमा ११ हजार नौ सय ६५ र माघ महिनामा नौ हजार सात सय २० रुपैयाँ आम्दानी भएको छ । उद्यान घुम्नरहेर्न आउने विद्यार्थीबाट प्रतिविद्यार्थी १० र अन्यबाट प्रतिव्यक्ति २० रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ ।
मुसिकोटडाँडामा घुम्न शुल्क तिर्ने व्यवस्था गरिएपछि मुसिकोटडाँडा जिल्लाको एक मात्रै सशुल्क घुम्ने ठाउँ बनेको छ । यसअघि जिल्लाको कुनै पनि ठाउँमा यसरी शुल्क तिरेर घुम्ने अथवा हेर्ने व्यवस्था छैन । मुसिकोट नगरपालिका ४, स्थित चाँपामा मध्यपहाडी लोकमार्गसँगै मुुसिकोटडाँडा अवस्थित छ । पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित उधानमा चौकीदार र
उद्यान प्रवेशका लागि प्रवेशद्वार निर्माण गरिएको छ ।
जिल्ला वन कार्यालयले चौकीदारको तलब भत्ता व्यवस्थान गर्दै आएको छ । जिल्ला समन्वय समिति, मुसिकोट नगरपालिका, जिल्ला वन कार्यालयलगायतले उद्यानमा आवश्यक शौचालय, खानेपानीको धारा, स्नान कक्षलगायतका संरचना बनाइदिएका छन् । उद्यानभित्र मुसीको अर्धकदको प्रतिमा, बँदेल, गोही, गोरु, सर्प, हात्ति, गैंडाको आकृति बनाइएको छ । मुसिकोटडाँडाबाट जिल्ला सदरमुकाम खलंगा बजार, सानीभेरी नदीलगायतका ठाउँको सहजै अवलोकन पनि गर्न सकिन्छ ।
नेपालमा बाइसे चौबीसे राज्य हुँदा एक जना राजाले आफ्नी मुसी नामकी नोकर्नीलाई रूकुममा पठाए । राजालाई मुसिकोट भन्ने ठाउँ स्वर्गझैं भएको र त्यहाँ बस्दा राज्य सञ्चालन पनि सजिलै गर्न सकिने भएको भनेर मुसीले राजालाई सुझाइन् । मुसीको सुझावबमोजिम राजाले त्यो ठाउँको अवोलकन गरे। उनलाई पनि त्यो ठाउँ मन परेपछि त्यतै दरबार सारेर
त्यो ठाउँलाई मुसीकै नामबाट मुसिकोट दरबार नाम राखे ।
अग्लो ठाउँ र त्यसबाट सबैतिर सहजै राज्य सञ्चालन गर्न सकिने ठहर राजाले गरेपछि राम्रो ठाउँ पत्ता लगाएको भन्दै मुसीकै नाममा राजाले मुसीको कदरस्वरूप उनकै नामको मुसिकोट दरबार बनाएर बसेको इतिहास छ । रूकुम जिल्लाको पहिलो नगरपालिकाको नाम पनि मुसिकोट नगरपालिका नै राखिएको छ । जिल्ला सबैभन्दा पुरानो क्याम्पसको नाम पनि मुसिकोटबाटै राखिएको छ ।