☰ open Loading... 19 November 2024|  

हाेलीलार्इ मर्यादित बनाउन प्रहरीको विशेष टोलि परिचालन
  | १७ फाल्गुन २०७४, बिहीबार ०९:२३

सुर्खेत । होलीलाई मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सुरक्षा टोली परिचालन गरेको छ । होली पर्वमा विभिन्न अप्रिय घटना हुन सक्ने भएकाले जिल्लाको सुरक्षा स्थितिलाई ध्यानमा राख्दै प्रहरी विशेष सुरुक्षा योजना लागू गरेको हो ।

सुरक्षा योजनाअन्तर्गत जिल्लाभर मोबाइल गस्ती, ठाउँ–ठाउँमा चेकिङ प्वाइन्ट, प्रहरीका टिम विभाजन गरी जिल्लाभर खटाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक(डिएसपी) श्यामसिंह चौधरीले बताए ।

कसैको इच्छाविपरीत लोला हान्ने, रङ लगाउने, ट्राफिक नियम उल्लंघन, मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडाजस्ता क्रियाकलाप गरेको पाइएमा तत्काल पक्राउ गरी कानुन बमोजिम कारबाही गरिने उनले जानकारी दिए ।

फायल तस्वीर

कसैले जबरजस्ती लोला हान्ने, रङ लगाउने गरेमा तत्काल प्रहरी कन्ट्रोल रुमको १०० नम्बरमा प्रहरीलाई खबर गर्नसमेत आग्रह गरिएको छ । जिल्लामा होली पर्व शान्तिपूर्ण रूपमा सम्पन्न गर्न प्रहरीले मदिरा बिक्री–वितरण र सेवन गर्नसमेत रोक लगाएको छ ।

जिल्लाभर होली पर्वमा कसैको इच्छाविपरीत लोला हान्ने, रङ लगाउने, मादक पदार्थ सेवन गरी होहल्ला, झैझगडा गर्नेजस्ता क्रियाकलाप नगर्न भन्दै माइकिङसमेत गरिएको उनले बताए ।

आज(विहीवार) आपसी मेलमिलाप र सदभावनाको सन्देश लिई सुर्खेतसहित देशका पहाडी भागहरूमा आज होली पर्व हर्षोल्सापूर्वक मनाइदैछ । नेपालका सबै जात जातिले मनाउने होली पर्व आज पहाडी भेगमा मनाउने गरिन्छ भने भोलि(शुक्रवार) तराईका क्षेत्रहरूमा हर्षोल्लासपूर्वक होली मनाइन्छ ।