हुम्ला । गाडी पुगेका दुर्गम ठाउँमा खच्चड विस्थापित भए पनि हुम्लामा भने कच्चड इन्धन डुवानीमा प्रयोग हुन थालेका छन् । हुम्लाको उत्तरी हिल्सा नाकाबाट नाम्खा गाउँपालिकाको ओखरथलासम्म ७१ किलोमिटर र सदरमुकाम सिमकोटबाट दक्षिण खार्पुनाथसम्म ११ किलोमिटर सडकमा गाडी चल्छ । यी दुई रुटमा दैनिक चारवटा महिन्द्रा कम्पनीका बोलेरो र चारवटा ट्र्याक्टरले यात्रु र सामान ओसारपसार गर्छन् । अन्य यातायातका साधन पनि यी रुटमा चल्ने गरेका छन् । तिनै सवारीसाधनका लागि आवश्यक पर्ने डिजल डुवानीमा भने खच्चडको प्रयोग भइरहेको छ ।
हेलिकोप्टरबाट चारवटा महिन्द्रा कम्पनीका बोलेरो जिपसहितका गाडी हुम्ला सदरमुकाम सिमकोट पुर्याइएको छ । दुर्गम हुम्लामा हेलिकोप्टरबाट साना गाडी लगिए पनि इन्धन डुवानीका लागि सडकमार्ग बनेको छैन । अचेल हुम्लाका दुर्गम क्षेत्रमा चल्ने सवारीसाधनका लागि आवश्यक पर्ने इन्धन डुवानीको काम खच्चडले पाएका हुन् ।
एक दर्जन सवारीसाधन सञ्चालन
हाल सिमकोटआसपासका क्षेत्रमा चारवटा ट्र्याक्टर, चारवटा जिप, दुईवटा स्काभेटर र दुईवटा मोटरसाइकल गुडिरहेका छन् । ती यातायातका साधनलाई आवश्यक पर्ने इन्धन मुगुको गमगडीबाट खच्चडले ओसार्ने गरेका छन् । हवाईजहाज तथा हेलिकोप्पटरबाट डुवानी गर्दा डिजल तथा पेट्रोलको मूल्य तीन सय ८० रुपैैयाँसम्म पर्छ । हवाइमार्गबाट इन्धन डुवानी गर्दा महँगो पर्ने भएपछि इन्धन डुवानीमा खच्चडको प्रयोग भएको हो । हुम्लामा ०५२ सालदेखि व्यावसायिक रूपमा खच्चड पालन थालिएको हो । पर्यटकलाई आवतजावत गर्न समस्या भएपछि हुम्लीले व्यावसायिक रूपमा खच्चड पालन थालेका हुन् ।
खच्चड पालनलाई निरन्तरता
चीनको कैलाश मानसरोवर दर्शन गर्न जाने पर्यटकलाई आवतजावत तथा सामान ओसारपसारमा खच्चड प्रयोग हुँदै आएको छ । पर्यटकले रुचाएपछि स्थानीयले खच्चड पालन व्यवसायलाई निरन्तरता दिएका छन् । केही वर्षयता खच्चड प्रयोग गर्ने पर्यटकको संख्या घटे पनि गाडीका लागि इन्धन डुवानी गर्ने काम खच्चडले पाएका हुन् । चीनको सीमासँग यातायात जोडिए पनि चीन सरकारले वैधानिक तरिकाबाट नेपालमा इन्धन ल्याउन दिएको छैन । व्यवसायीहरूले तिब्बती नागरिकसँग मिलेर लुकीछिपी इन्धन ल्याउने गरे पनि पर्याप्त नभएपछि खच्चडबाटै ढुवानी गर्न व्यवसायी बाध्य भएका हुन् ।
खच्चडले डुवानी गरेको खाद्यान्न सस्तो
हुम्लाका सात गाउँपालिकामध्ये नाम्खाबाहेक ६ गाउँपालिकाका स्थानीय बासिन्दाले खाद्यान्नसहितका अत्यावश्यक सामानको डुवानीमा खच्चडबाट गर्छन् । सदरमुकाम सिमकोटमा हेलिकोप्टरले डुवानी गरेका सामानभन्दा खच्चडबाट ढुवानी गरिएका सामान सस्तो हुने चंखेली गाउँपालिकाका झक्क रोकायाले बताए । सडक सञ्जालले नजोडिएको हुम्लामा झोपा, घोडा र भेडाबाट समेत सामान ढुवानी गर्ने गरिएको व्यवसायी धने ऐडीले बताए ।
स्राेत ः नयाँ पत्रिका