सल्यान । शारदा नगरपालिका ९, मधनास्थित कालिका प्राथमिक विद्यालय विद्यार्थीविहीन भएको छ । विद्यार्थी नभएपछि विद्यालय बन्द हुने अवस्थामा पुगेको छ ।
कक्षा ३ सम्म सञ्चालित विद्यालयमा १८ बालबालिका अध्ययनरत थिए । तर, अभिभावकले निजी विद्यालयमा भर्ना गरेपछि विद्यार्थीविहीन भएको हो । प्रधानाध्यापक दीपक थापाका अनुसार विद्यार्थी नभएपछि पाँचकोठे दुई भवन जीर्ण बन्दै गएका छन् । गाउँका बालबालिकालाई पढ्न जान लामो समय हिँड्नुपर्ने बाध्यता अन्त्य गर्न विद्यालय स्थापना गरिएको थियो ।
कालिका सामुदायिक वनको आर्थिक सहयोगमा ०६३ मा स्थापना भएको विद्यालय ३ कक्षासम्म सञ्चालनमा थियो । ‘विद्यालय स्थापनाको दोस्रो वर्ष २०६४ मा ९४ विद्यार्थी थिए । बर्सेनि कक्षा बढाएर ५ सम्म सञ्चालन गर्ने हाम्रो योजना थियो,’ उनले भने, ‘तर विद्यार्थी नै नभएपछि सञ्चालनमा समस्या छ ।’ उनका अनुसार शिशु कक्षामा १२ विद्यार्थी भर्ना भए पनि नियमित छैनन् ।
विद्यालयमा प्रधानाध्यापक थापा र शिक्षक विमला थापा कार्यरत छन् । साउनदेखि जिल्ला शिक्षा कार्यालयबाट पीसीएफ अनुदान आउन छोडेपछि तलब खान नपाएको उनले बताए । नगरपालिकाले आर्थिक सहयोग गरे निजीमा गएका विद्यार्थी पुनस् फर्काएर कक्षा सञ्चालन गर्ने उनको भनाइ छ ।
जिल्लाका अन्य दुई दर्जन बढी विद्यालयमा पनि विद्यार्थी संख्या न्यून रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । धेरै विद्यालय मर्ज गर्नुपर्ने अवस्था आएको जिल्ला शिक्षा अधिकारी देवीप्रसाद सुवेदीले बताए । उनका अनुसार निजीबाट सामुदायिकमा बालबालिका फर्काउन नयाँ नीति आवश्यक रहेको र सामुदायिकलाई पूर्वाधारमैत्री बनाउनुपर्ने उनले जनाए ।