दार्चुला । शैल्यशिखर नगरपालिका–१ बारीलका स्थानीय चमेलिया जलविद्युत आयोजनाको मूल गेटमा आमरण अनशन बसेका छन् ।
सम्झौता अनुसार खानेपानीलगायतका समस्या समाधान नगरेको भन्दै स्थानीयले आमरण अनशन कार्यक्रम शुरु गरेका हुन् । खानेपानी मूल संघर्षसमिति बारीलका अध्यक्ष शंकर खडायत, सचिव सुरेन्द्रबहादुर तितरा र सल्लाहकार समिति सदस्य प्रमानन्द तितरा बिहीबारदेखि अनशनमा बसेका हुन् ।
स्थानीयले फागुन ११ गते प्रेस विज्ञप्तीमार्फत समयमा माग पूरा नभए फागुन १७ गतेबाट मूल गेटमा अनशन बस्ने चेतावनी दिएका थिए । तत्कालीन समयमा भएका सम्झौता पूरा गर्न खानेपानी मूल संघर्षसमिति शैल्यसिखर नगरपालीका–१ बारिलले ९ बुँदे अपिल जारी गरेपनि माग पूरा नभएपछि अनशन शुरु गरेको उनीहरुले बताएका छन् ।
११ वर्षअघि आयोजना निर्माण शुरु गर्दा खानेपानी र सिचाईको स्थायी एवं दिर्घकालीन समस्या समाधान गर्ने सम्झौता अझै पूरा नभएको अनशन बसेको संघर्ष समितिका सचिव सुरेन्द्रबहादुर तितराले बताए ।
समितिले आयोजना निर्माणको क्रममा क्षति पुगेको खानेपानीको व्यवस्थापन, पूर्व सहमति अनुसारको सिंचाइ, सडक, विद्यालयलगायतका समस्या समाधान गरिदिनुपर्ने माग राख्दै आएको छ । यस्तै संघर्षसमितिले प्रत्यक्ष रुपमा आयोजनाबाट प्रभावित शैल्यशिखर नगरपालिका र दार्चुलाको मार्मा गाउँपालिका तथा बैतडीको डिलाशैनी गाउँपालिकामा निशुल्क रुपमा विद्युत वितरण हुनुपर्ने माग गरेको छ ।
यसैगरी गत माघ २७ गते उद्घाटन भएर पनि स्थानीयले नपाएको विद्युतलाई चालू आर्थिक वर्षभित्र सबै क्षेत्रमा विद्युतीकरणको ग्यारेन्टी गर्न माग गरेको छ । ३० मेगावट चमेलियाबाट उत्पादन हुने विद्युतबाट दार्चुला र बैतडीलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न विद्युत प्राधिकरणसँग माग राखेको छ ।
समितिले आयोजनाको बाँधस्थलदेखि टेलरेसम्म चमेलियामा १० प्रतिशत पानी छोड्न आग्रह गरेको छ । चमेलियाको सबै पानी ड्याममा राख्दा स्तनधारी जनावरको मृत्य भएको तथा उनीहरुको बाँच्ने पाउने अधिकार कुण्ठीत भएको समितिले जनाएको छ ।
यता आयोजनाले भने स्थानीयका मागहरु पूरा गर्न आयोजना तयार रहेको भन्दै अनसन स्थगित गर्न लिखित आग्रह गरेको छ । जनता समाचारसँग आयोजनाका सहायक उपप्रबन्ध पुष्पराज जोशीले खानेपानी समस्या समाधान गर्न तत्काल प्रकृया शुरु गरी सम्झौतामा उल्लेख सबै समस्या समाधान गर्ने बताए ।