☰ open Loading... 17 November 2024|  

जलविद्युत् आयोजनामा बारम्बार आक्रमण
  | १९ फाल्गुन २०७४, शनिबार १०:१६

दैलेख ।  नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको कार्यालयमा बारम्बार आक्रमण भइरहँदा सुरक्षा कमजोरी देखिएको छ । निर्माण कम्पनी जीएमआरको कार्यालय र आयोजना सुरक्षार्थ सशस्त्र प्रहरी बल अलगअलग स्थानमा हँुदा आक्रमणको निसाना बन्दै गएको हो ।

कम्पनीको कार्यालयमा हालसम्म ८ पटकसम्म हमला भइसकेको छ । तरपनि भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको छैन । घटनाप्रति सरकार र कम्पनी गम्भीर बन्न नसकेको स्थानीयको आरोप छ । जीएमआर कार्यालयदेखि दुई किमि टाढा रहेको सशस्त्र प्रहरी बलको कार्यालयमा घटनाबारे तत्काल सुरक्षा निकायले जानकारी लिन नसक्ने अवस्था छ ।

आयोजनाले नै सुरक्षा निकायसँग समन्वय नगर्दा घटना दोहोरिएको स्थानीयवासीको ठम्याइ छ । जिल्लाभर सुरक्षा दिने प्रहरी कार्यालयमा ८६ प्रहरीको संख्या छ । एउटा कम्पनीलाई सुरक्षा दिनको लागि ७६ सशस्त्र प्रहरीले जिम्मा लिंदा पनि घटनाहरू बढ्दो क्रममा छन् । डीएसपी रहँदै आएका भए पनि अघिल्लो घटनाका कारण उनलाई फिर्ता बोलाई सशस्त्र प्रहरी निरीक्षक प्रेम ठकुल्लालाई सुरक्षाको जिम्मा दिइएको छ ।

कम्पनीको लापरबाहीले हालसम्म कुनै कामले तीव्र गति लिन नसकेको आठबीस नगरपालिका ३ का सुजन शाहीले बताए । अहिले कार्यालय एकजना सुरक्षा गार्डको भरमा सञ्चालन हँुदै आएको छ । सर्भे भएकै दस वर्ष बित्दासमेत कम्पनीले हालसम्म १ सय २० रोपनी जग्गाको मुआब्जा दिएर आलटाल गरेको छ । ९ सय २० रोपनी जग्गा खरिद गर्नुपर्ने कम्पनीले कुनै चासो दिएको छैन । माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणमा भइरहेको ढिलाइप्रति त्यस क्षेत्रका बासिन्दा आक्रोशित छन् ।

सरकारले चासो नदिए कम्पनीले अझै १० वर्षमा मुआब्जा दिने र जग्गा खरिदमै धकेल्दै जाने आठबीस नगरपालिकाका उपप्रमुख दीपा बाहोराले बताइन् । सरकारले पटकपटक म्याद थप्दै जानेतर, आयोजनाले विभिन्नबहानामा ढिलाइ गरेको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपालेले बताए ।

कान्तिपुर