सुर्खेत । कर्णाली प्रदेश स्तरिय क्रिकेट प्रतियोगितामा रूकुम र सुर्खेत विजयी भएका छन् । मंगलबार भएका खेलमा रुकुमले सल्यान र सुर्खेतले जुम्लालाई पराजित गरेको हो । मंगलबार भएको खेलमा जुम्लालाई २२ रनले पराजित गर्दै सुर्खेतले आफ्नो विजयी यात्रालाई कायम राखेको हो । उसले प्रतियोगितामा सबैभन्दा बढी ६ अंक जोडेको छ। टस जितेर पहिलो ब्याटिङ गरेको सुर्खेतले २० ओभरमा ७ विकेट गुमाएर एक सय ७७ रन बनायो। उसका लागि रविन्द्रजंग शाहीले ४७ र टेक सलामीले ३८ रनको योगदान गरे। बलिङतर्फ जुम्लाका मनोज भारतीले ४ विकेट लिए ।
एक सय ७८ रनको लक्ष्य पछ्याएको जुम्लाले पुरै २० ओभर खेलेर ७ विकेटको क्षतिमा एक सय ५५ रन मात्रै बनाउन सक्यो। जुम्लाका सुवर्ण शाहीले ३७ र जितेन्द्र शाहीले ३२ रन बनाए। ४७ रन बनाउनुका साथै दुई विकेट लिन सफल रविन्द्रजंग शाही खेलको म्यान अफ दि म्याच बने ।
त्यसैगरी मंगलवार नै भएको दोस्रो खेलमा रुकुमले सल्यानलाई पराजित गरि लिगको दोस्रो स्थानमा उक्लिएको छ । सल्यानलाई ९ विकेटले पराजित गर्दै रुकुमले प्रतियोगितामा आफ्नो दोस्रो जित दर्ता गरेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको सल्यानले ११ दशमलव ३ ओभरमा ३३ रन मात्रमा अलआउट भयो। सल्यानका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन। रुकुमका विवश गिरीले ४ तथा विजय विष्ट र दिनेश पुनले समान ३ विकेट लिएपछि सल्यान ३३ रनमै समेटिएको हो।
३४ रनको सामान्य लक्ष्य रुकुमले ७ ओभरमा १ विकेट गुमाएर भेट्यो। उक्त खेलमा सल्यानका दिवस गिरी म्यान अफ दि म्याच भए ।
प्रतियोगिता अन्तर्गत भोली(बुधवार) तीन वटा खेल सञ्चालन हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए। उनका अनुसार पहिलो खेलमा दैलेख र सल्यान, दोस्रो खेलमा जुम्ला र रुकुम तथा तेस्रो खेलमा सुर्खेत र जाजरकोटले प्रतिस्पर्धा गर्नेछन्।