☰ open Loading... 17 November 2024|  

कर्णाली प्रदेश सभा नियमावली मस्यौदा प्रतिवेदन तयार
  | २३ फाल्गुन २०७४, बुधबार १९:०९

सुर्खेत । कर्णाली प्रदेश सभा नियमावली २०७४ मस्यौदा प्रतिवेदन तयार गरेर सभामुख राजबहादुर शाहीलाई बुझाएको छ । प्रदेश सभालाई सूचारु गर्न, प्रभावकारी बनाउन र चुस्त दुरुस्त राख्न नियमावली तयार गरेर कर्णाली प्रदेश सभा नियमावली मस्यौदा समितिले बुधबार सभामुखलाई प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन तयार गर्न सांसद सिता नेपालीको संयोजकत्वमा ८ सदस्यीय समिति गठन गरिएको थियो । नेपालको संविधानको १९४ धाराले दिएको अधिकारलाई आधार बनाएर मस्यौदा प्रतिवेदन तयार गरिएको समितिका संयोजक सिता नेपालीले बताइन् ।

उनले सानो प्रदेश भएकाले बैठकलाई व्यवस्थित गर्न ५० प्रतिशत सदस्यको उपस्थितमा संसद र समितिको बैठक बस्न मिल्ने व्यवस्था गरेको जानकारी दिइन् ।

मस्यौदामा चार ओटा विषयगत समिति बनाउने प्रस्ताव गरिएको छ । समितिहरुमा प्रदेश मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोत र सामाजिक विकास समिति छन् ।

यी समितिहरुको कार्यक्षेत्राधिकार समेत समावेश गरिएको छ । समितिले बुझाएको मस्यौदा प्रतिवेदनमा २६ परिच्छेद, २२२ नियम र ८ अनुसूची छन् । कर्णाली प्रदेशको अब बस्ने बैठकमा मस्यौदा माथि छलफल हुने प्रदेश सचिवालयले जनाएको छ ।