सुर्खेत । जाजरकोटका एक बालकलाई अमेरिका बस्ने एक नेपालीले ५० हजार आर्थिक सहयोग गरेका छन् । मुटुमा लाग्ने बाथरोगले थलिएका जाजरकोटका १० बर्षीय बालक दिनेश खत्रीको उपचारार्थ अमेरिकामा बस्ने जाजरकोटकै मणिरज जैशीले सहयोग गरेका हुन् ।
जैशीले पठाएको रकम पत्रकार तथा समाजसेवी प्रकाश पन्तले बिहिबार एक कार्यक्रमका विच हस्तान्तरण गरेका छन् । खत्री जाजरकोटस्थित नलगाड नगरपालिका डाँडागाउँका हुन् । आर्थिक अभावले थलिएका बालक खत्री हाल काठमाडौंमा उपचार गराइरहेका छन् ।
‘शिवर पश्चात रुकुमको चौरजारी अस्पतालमा उपचार गराए त्यसपछि थप उपचारको लागि काठमाडौं लगेको हुँ’ दिनेशका बुवा सुशील खत्रीले भने,–‘छोराको उपचारमा यस्तै सहयोगी मनहरुका सहयोग गरेकाले उपचारमा केही सहज भएको छ ।’
केही महिना अघि जाजरकोटको नलगागाड नगरपालिकामा क्षेत्रीय अस्पताल कालागाउँ सुर्खेतमा कार्यरत बाल रोग विशेषज्ञ डा. नवराज केशीले शिविरमा तिनै बालक खत्रीलाई उपचार गरेका थिए ।
उनको मुटुमा बाथरोग देखिएकाले बाहिर लगेर उपचार गर्न सुझाएका थिए । सोही अनुरुप अभिभावकले चौरजाहरी हुँदै काठमाडौं लगेर खत्रीको उपचार गराउँदै आएका छन् ।
क्षेत्रीय अस्पताल कार्यरत डा. केशीले यस क्षेत्रका बालकालिकाहरुलाई निःशुल्क उपचार गराउँदै आएका छन् । मुटु रोगले थलिएका बालक खत्रीलाई डा. केशीले तीन महिनाको औषधी समेत निःशुल्क उपलव्ध गराएको समाजसेवी एवम् पत्रकार पन्तले जानकारी दिए ।
पन्तका अनुसार अमेरिकामा बस्ने जैशीले क्षेत्रीय अस्पताल पुनस्र्थापना गृहका लागि २५÷२५ हजारका दुई थान स्मार्ट टेलिभिजन उपलव्ध गराएका छन् । आफू अमेरिका रहेपनि आफ्नै क्षेत्रका असाहय र विपन्न समुदायका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया जैशीले दिएका छन् । जैशी जाजरकोट शिवालय गाउँपालिका थालारैकरका हुन् ।