सुर्खेत । कर्णाली प्रदेशस्तरीय टि–२० क्रिकेट प्रतियोगितामा सुर्खेत फाइनल प्रवेश गरेको छ। लिगचरणका सबै पाँच वटै खेलमा विजयी हुँदै सुर्खेतले फाइनलमा स्थान सुरक्षित गरेको हो। सुर्खेत प्रतियोगिताका एक मात्र अपराजित टिम हो ।
बिहीबार सुर्खेतले रुकुमलाई २९ रनले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुर्खेतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ५७ रन बनायो । सुर्खेतका लागि रविन्द्रजंग शाहीले सर्वाधिक ८२ रन बनाए भने निश्चल रावलले २८ रन बनाए ।
बलिंगतर्फ रुकुमका विवश गिरी र विजय विष्टले २÷२ विकेट लिए। एक सय ५८ रनको लक्ष्य पछ्याएको रुकुमले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय २८ रन मात्र बनाउन सक्यो। उसका लागि खुसीराम विकले २८ र कमलराज पुनले २६ रन बनाए । बलिंगतर्फ सुर्खेतका टेक सलामीले तीन र रविन्द्रजंग शाहीले २ विकेट लिए ।
उक्त खेलमा सुर्खेतका रविन्दजंग शाही म्यान अफ दि म्याच बने। त्यसअघि बिहीबार विहान भएको खेलमा जाजरकोटले दैलेखलाई ५ विकेटले पराजित गर्यो । पहिले ब्याटिङ गरेको दैलेखले १८ दशमलव १ ओभरमा सबै विकेट गुमाएर एक सय ६ रन जोड्यो ।
एक सय ७ रनको विजय लक्ष्य पछ्याएको जाजरकोटले १४ दशमलव ३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गर्यो । उसका लागि सुमन गुरुंगले ३० र सन्दिप शाहीले १७ रनको योगदान दिए ।
१७ रन बनाउनुका साथै २ विकेट लिएका जाजरकोटका सन्दिप शाही उक्त खेलको म्यान अफ दि म्याच बने । बिहीबार नै भएको तेस्रो खेलमा सल्यानले जुम्लालाई ५ विकेटले पराजित गरेको छ । जुम्लाले दिएको एक सय ५ रनको लक्ष्य सल्यानले ५ विकेटको क्षतिमा पुरा गरेको हो ।
सल्यानका चद्र बिसीले सर्वाधिक ४३ रन बनाए । बिसी उक्त खेलको म्यान अफ दि म्याच घोषित भए। प्रतियोगिता अन्तर्गत भोली शुक्रवार जाजरकोट र रुकुम तथा दैलेख र जुम्लाबीच खेल हुने आयोजक सुर्खेत जिल्ला क्रिकेट संघका अध्यक्ष श्रीधर केसीले जानकारी दिए।