☰ open Loading... 18 November 2024|  

प्रादेशिक औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन शुरु
  | २८ फाल्गुन २०७४, सोमबार १४:४५

सुर्खेत । एक प्रदेश एक औद्योगिक क्षेत्रको अवधारणा अनुसार कर्णाली प्रदेशको सुर्खेतमा औद्योगिक क्षेत्रको सम्भाव्यता अध्ययन शुरु भएको छ ।

औद्योगिक क्षेत्रका लागि प्रस्ताव भएको क्षेत्रको भौगर्भिक तथा सम्भाव्यता अध्ययन गर्न उद्योग मन्त्रालयले प्राविधिक टोली सुर्खेत पठाएको हो । यो टोलीले उक्त स्थानमा औद्योगिक क्षेत्र स्थापनाका लागि उपयुक्त छ वा छैन् भन्ने विषयमा अध्ययन गर्नेछ । औद्योगिक क्षेत्रका लागि यसअघि नै रानीचौतारी र खाँडदेवी सामुदायिक वनले जग्गा दिने निर्णय गरिसकेको खाँणदेवी सामुदायिक वन उपभोक्ता समिति अध्यक्ष टिकाराम छन्तेलले बताए ।

कर्णाली प्रदेशमा ठूला उद्योग हालसम्म स्थापना भएका छैनन् । सरकारले औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरेपछि सुर्खेतमा नै स्थापनाका लागि सुर्खेत उद्योग वाणिज्य संघले पहल थालेको थियो । सामुदायिक वनहरुले औद्योगिक क्षेत्रका लागि आवश्यक पर्ने एक हजार विगाह जग्गा उपलब्ध गराएका थिए । औद्योगिक क्षेत्रका लागि पश्चिममा झुप्रा खोला, उत्तरमा भेडावारी सडक, दक्षिणमा भेरी नदी र पूर्वमा चिङगाड खोलाको बीचमा रहेको जग्गा प्रस्ताव गरिएको सुर्खेत उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष बाशुदेव शर्माले बताए ।

सम्भाव्यता अध्ययनका लागि ग्रीन राजदेवी कन्सटलटेन्सी काठमाण्डौंले जिम्मा पाएको छ । टोलीले स्थलगत अध्ययन गरेर प्रतिवेदन तयार पार्नेछ । सम्भाव्यता अध्ययन प्रतिवेदनपछि मात्र डीपीआरको काम सूरु हुनेछ । औद्योगिक क्षेत्रका लागि छनौट भएको स्थलमा पर्याप्त पानीको स्रोत, राजमार्ग नजिक र विद्युत सहज विस्तार गर्न सकिने क्षेत्र हो । सम्भाव्यता अध्ययनको काम सुरु लगत्तै अन्य प्रक्रियाहरु पनि अगाडि बढाउने तयारीमा वीरेन्द्रनगर औद्योगिक क्षेत्र जुटेको छ । प्राविधिक टोलीको प्रतिवेदनले उपयुक्त छ भने, प्रस्तावित क्षेत्रमा नै औद्योगिक क्षेत्र स्थापना गर्न सरकारलाई बाटो खुल्नेछ ।