☰ open Loading... 18 November 2024|  

मेयर चौधरीलाई हामीले आक्रमण गरेका होईनौंः विप्लव
  | २९ फाल्गुन २०७४, मंगलवार १२:२२

कैलाली । विप्लव नेतृत्वको नेकपा माओवादीले घोडाघोडी नगरपालिका मेयर ममताप्रसाद चौधरीमाथि भएको आक्रमण आफुहरु संलग्न नभएको जनाएको छ ।

‘चौधरीमाथि भएको गोली एंव खुकुरी प्रहार घटना सुनियोजित हो’ जनता समाचारसँग टेलिफोनमा कुरा गर्दै उक्त पार्टीको जिल्ला सचिवालय सदस्य विनोद विष्टले भने, ‘‘हाम्रो पार्टी अहिले हतियार उठाएर जनकारबाही गर्ने पक्षमा छैन् ।’ उनले भने, अहिले पार्टीले कालोमोसो दल्ने, जनसहभागितामा भ्रष्टाचारीलाई कारबाही गर्ने लगायतका काम गरिरहेको छ । पार्टीले हतियार उठाएर कसैमाथि आक्रमण गर्ने कार्यक्रम नरहेको उनले बताए ।

आफ्नो पार्टीले मेयर चौधरीलाई कारबाही गर्ने भनेर विज्ञप्ती जारी गरेको भएपनि पार्टीको जनकारबाहीमा हतियार प्रयोग गरि आक्रमण योजना नरहेको उनले प्रष्ट पारे ।

उक्त घटनामा संलग्न भएको आशंकामा प्रहरीले विप्लव नेतृत्वको माओवादीका तीन जना कार्यकर्तालाई पक्राउ गरी सोधपुछका लागि ईलाका प्रहरी कार्यालय सुखडमा राखेको छ ।

प्रहरीले राती घरमा सुतिरहेको अवस्थामा राष्ट्रिय युवा जनस्वयसेवक संगठनका अध्यक्ष कमल क्षेत्री ९पवित्र०, घोडाघोडी नगर सेक्रेटरी भरत शाह र टीकापुर नगर सेक्रेटरी हृदय बोगटीलाई नियन्त्रणमा लिएको छ ।

पार्टीले कार्यकर्ता पक्राउ परेकोमा ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेका सबैलाई विना सर्त रिहाई गर्नुपर्ने, घटनाको सत्य तथ्य छानविन गरि दोषीलाई कारबाही गर्नुपर्ने लगायतका माग गरेको छ । यस्तै राती घरमा सुतिरहेको अवस्थामा प्रहरीले बिना प्रमाण पक्राउ गरी मानवअधिकारको हनन भएको भन्दै मानव अधिकार वादीले पनि दबाब दिनुपर्ने बताएको छ ।

कम्मरमुनि गोली लागेको र टाउकोमा खुकुरीको चोट लागेका घाइते चौधरीलाइ कोहोलपुरबाट सेनाको हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं लगिएको छ ।