☰ open Loading... 23 December 2024|  

महाकाली नदीमा ८ ओटा काठेपुल रहेको खुलासा
  | १४ चैत्र २०७४, बुधबार १४:३८

सन्तोष कोट्टारी,
दार्चुला । अन्तर्राष्ट्रिय सीमा नदी महाकाली नदीमाथि भारतले ८ ओटा काठेपुल निर्माण गरेको खुलाशा भएको छ । भारतले नेपाली पक्षको अनुमति विना महाकाली नदीमाथि नेपाल भारत जोड्ने ८ ओटा अस्थायी काठेपुल निर्माण गरेको खुलाशा भएको छ ।

दार्चुलाको उत्तर पश्चिमी क्षेत्र व्याँस गाउँपालिकाको २ राप्लाका विभिन्न क्षेत्रमा भारतले ८ ओटा अस्थायी काठेपुल निर्माण गरेको वडा नम्बर २ का वडाध्यक्ष धिरनसिँह बुढाथोकीले बताए ।

व्याँस गाउँपालिका वडा नम्बर २ राप्लाको तम्बाकु र लखनपुरमा ३ ओटा, थीकोभीर, दोपाखे, घाँटि, पोला, बुँदी क्षेत्रमा एउटा–एउटा गरी ८ ओटा काठेपुल निर्माण गरेको उनले बताए ।

भारतले नेपाली प्रशासनको अनुमति विना निर्माण गरेका ती अस्थायी काठेपुल नेपाली मानव बस्ती भन्दा झण्डै अढाई किलोमिटर उत्तरी सीमा क्षेत्र मानब रहीत क्षेत्रमा पुल निर्माण गरेको थियो ।

यस विषयमा सीमा बैठकमा समेत नेपाली पक्ष कडा प्रस्तुत भएपछि गल्ती स्वीकार्दै ती अस्थायी काठेपुल हटाउन भारत सहमत भएको थियो । २ ओटा काठेपुल भारतले यसअघि हटाएको पनि थियो ।

यसअघि ४ ठाउँमा काठेपुल निर्माण गरेको भन्ने खबरहरु आएपनि ८ ओटा काठेपुल निर्माण गरी भारतीय नागरिक तथा कामदारहरु निर्वाध रुपमा आवत जावत गर्ने गरेको राप्लाका एक स्थानियले जानकारी दिए ।

“नेपाली प्रशासन त भारत सामु झुक्छ, हामीत स्थानिय हौँ केहि बोल्ने आँट पनि आउँदैन, ती स्थानियले भने । उनले सीमा क्षेत्रमा भएका घटना जस्तै कन्चनुपुरमा भएको घटनालाई स्मरण गर्दै त्यो घट्ना दोहोरिने त्रास समेत आफुहरुमा रहेको उनको दुखेसो छ ।

नेपाली पक्षको आबश्यकता भएको ठाउँमा पुल निर्माण गर्न नदिने र मानबीय बस्ती नभएको क्षेत्रमा पुल निर्माण गरेको भन्दै स्थानियहरु आक्रोशित भएका छन् । मंगलबार स्थानियहरुले आफ्नो आबश्यकता रहेको क्षेत्रमा पुल निर्माण गर्न भारतले अनुमति नदिएको भन्दै ५ ठाउँका अस्थायी काठेपुल हटादिएका छन् ।

३०÷३५ जना स्थानियहरुको टोली गएर तम्बाकु र लखनपुर क्षेत्रका ३ ओटा र थीको भीर र दोपाखेमा भारतले निर्माण गरेका एउटा–एउटा गरी ५ ओटा काठेपुल भत्काइदिएका छन् ।

स्थानियहरु आक्रोशित भइ पुलहरु भत्काउन भन्दै सीमा क्षेत्रतिर गएपछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म दार्चुलाबाट सशस्त्रको टोली, दुम्लिङ र सुन्सेरा प्रहरी चौकीबाट नेपाल प्रहरीको टोली समेत सीमा क्षेत्रमा गएको थियो ।

त्यस्तै उत्तरी सीमा क्षेत्रमा फागुन महिनाको अन्तिमतिर नेपाली सेनाको दुर्गादल गुल्मबाट नेपाली सेनाको टोली पनि त्यस क्षेत्रमा गएको छ ।

निरीह नेपाली प्रशासन भारत सामु कडा प्रस्तुत, नेपाली जनताद्धारा भारतीय स्वार्थमा निर्माण गरिएका संरचना भत्काइनुले राष्ट्रियताको रक्षाको लागि नेपाली नागरिक सचेत भएको संकेत गरेको छ ।

त्यस्तै तीन ओटै सुरक्षा फौँज सीमा क्षेत्रको रेखदेखका लागि तैनाथ मात्रै नभई नेपाली सेनाका पृतनापतिले समेत त्यस क्षेत्रको अबलोकन गरेपछि नेपाली जनतामा सुरक्षाको प्रत्याभूति भएको छ । तर सीमा क्षेत्रमा भारतको हर्कत दार्चुलाको यी क्षेत्रमा पनि दोहारिने त होइन भन्ने पनि उत्तिक्कै चाँसोको विषय बनेको छ ।