☰ open Loading... 23 December 2024|  

गोरीकला हत्या काण्ड : हत्यामा ट्राफिक प्रहरीकै संलग्नता
  | १४ चैत्र २०७४, बुधबार १८:४१

थप दुई जना पनि पक्राउ, अनुसन्धान जारी

सुर्खेत । एसईई परीक्षा दिन डेरामा बस्दै आएकी गोरीकला रोकायाको हत्यामा प्रहरीकै संलग्नता देखिएको रहस्य खुलेको छ । हत्यामा संलग्न भएको आरोपमा अस्थायी ट्राफिक पोष्ट बाबियाचौरमा कार्यरत हरि कोइरालासहित तीन जनालाई प्रहरीले बुधबार सार्वजनिक गरेपछि यस्तो रहस्य बाहिर आएको हो ।


प्रहरीले हत्या संलग्न भएका अभियुक्त पञ्चपुरी नगरपालिका–८ का लक्ष्मीप्रसाद बास्तोला र खुमप्रसाद बास्तोलाई पनि पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ ।

ट्राफिक प्रहरी कोइरालाले आफूलाई ‘केटी मिलाउन’ आग्रह गरेपछि गोरीकलालाई लक्ष्मीले भेट गराइदिएको बयानका क्रममा भनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी उमाप्रसाद चर्तुवेदीले पत्रकार सम्मेलनमा जानकारी दिए । गोरीकला र प्रहरी जवान कोइरालाले सोमबार दिउँसो डेरादेखि जंगलनजिक बसेर मदिरासहित खाजा नास्ता खाएको प्रारम्भीक अनुसन्धाबाट खुलेको छ ।

गोरीकलासंग लक्ष्मीले ट्राफिक प्रहरी कोइरालालाई भेट गराएर उनी गाउँ नजिकै भोज खान पुगेका थिए । फर्कर्ने क्रममा मोटरसाइकलबाट खसेर युवती घाइते भएको र घाइते अवस्थामै मेडिकल नलिई उसकै डेरामा सुताएको अनुसन्धाबाट खुलेको एसपी चुर्तुवेदीले बताए ।

उनका अनुसार गोरीकलाको डेरासम्म पु¥याउन खुमप्रसाद समेत पुगेका थिए । गोरीकलाको मृत्यु मंगलबार विहान सवाँ १ बजे भएको हो । ‘गोरीकलाको हत्या नै भएको वा मोटरसाईलबाट खसेर घाईते भएकी हुन भन्ने निचोडमा पुगेका छैनौं’ एसपी चर्तुवेदीले भने,–‘पोष्टमार्टम रिपोर्टपछि मात्रै गोरीकलाको हत्या भएको वा खसेकी हुन भन्ने खुल्छ, घटनामा अन्यको पनि संलग्नता भएको हुनसक्ने भएकाले हामी अनुसन्धानकै क्रममा छौं ।’

पञ्चपुरी नगरपालिका–३ चौर निवासी १८ वर्षीया गोरीकला मंगलबार विहान बाबियाचौरस्थित डेरामै मृत अवस्था घरमालिकले देखेपछि प्रहरीलाई खवर गरेका थिए । सूर्यप्रकाश मावि पलैंटेकी छात्रा रोकायले एसईईका लागि बाबियाचौरमा डेरा लिएर बसकी थिइन् । प्रहरीले अनुसन्धानका क्रममा सात जनालाई नियन्त्रणमा लिएको थियो ।

गोरीकला रोकायाको हत्या भएको २४ घण्टा वित्न नपाउँदै प्रहरीले अभियुक्तलाई सार्वजनिक गरेको हो । घटनामा अन्यको पनि संलग्नता हुने सक्ने भन्दै अनुसन्धान जारी रहेको एसपी चर्तुवेदीले बताए । पक्राउ परेका तीन जना अभियुक्तलाई बुधबार नै सुर्खेत जिल्ला अदालतमा म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ ।