द्रुत गतिमा निर्माण गर्न रारामा निर्णय गरिदै
सुर्खेत । भारतसँग नाका नजोडिएको कार्णाली प्रदेशले सुर्खेत–सिमिकोट–हिल्सा नाकालाई राष्ट्रिय गौरवको आयोजनामा जोड्ने तयारी गरेको छ । कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठकले बैशाख १ गते प्रधानमन्त्री केपी ओलीसँग रारामा बस्ने मन्त्री परिषद्को बैठकमा यसबारेमा निर्णय गरिने बताइएको छ ।
चीनसँग जोड्ने हिल्सा सडकलाई सुर्खेत–हिल्सा प्रधानमन्त्री पर्यटन लोकमार्ग नामाकरण गरेर प्राथमिकतामा राख्न लागेको कर्णाली प्रदेशका कार्यवहाक मुख्यमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।
मन्त्रीपरिषद्को बुधबार बसेको बैठकले गरेका निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्रीसमेत रहेका ज्वालाले यो सडकलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्री ओली सहभागी बैठकमा निर्णय गरिने बताए ।
‘दक्षिणतर्फका नाकासंग नजोडिएको प्रदेश भएकाले पहिलो प्राथमिकतामा हिल्सा सडकलाई राख्छौं’ ज्वालाले भने,–‘राष्ट्रिय गौरवको आयोजनामा स्थापित गरेर सडक निर्माणमा तिव्रता पनि दिन्छौं ।’
कर्णाली–रारा पर्यटन वर्ष रारा तालमा उद्घाटन गरिएपनि समग्र प्रदेश भरीकै पर्यटन क्षेत्रको विकासका लागि विशेष प्याकेज ल्याउन प्रदेश सरकार जुटेको ज्वालाले बताए । ‘रारा आफैमा चर्चित हो, राराबाटै पर्यटन वर्षको शुभारम्भ गर्दैछौं’ ज्वालाले थपे,–‘प्रदेशको पर्यटन क्षेत्र रारा मात्रै हैन, अन्य क्षेत्रहरु पनि छन्, तर रारामै कार्यक्रम गर्दा पर्यटन वर्षले सार्थकता पाउने भएकाले रारामा कार्यक्रम गर्न लागेको हौं ।’
विशेष प्याकेजमा प्रदेशका १० जिल्लाकै पर्यटन क्षेत्रहरु समेटिने ज्वालाले स्पष्ट पारे । उनले कर्णाली–रारा पर्यटन वर्ष–२०७५ लाई सार्थकता दिन प्रचारप्रसारलाई तिव्रता दिइने निर्णय मन्त्रीपरिषद्को बैठकले गरेको जानकारी दिए ।
कार्यक्रममा जनताहरुको व्यापक सहभागीता बढाउन जिल्ला समन्वय समिति मुगु र त्यहाँका स्थानीय निकायलाई जिम्मा दिएको ज्वालाको भनाई छ ।
बुधबार मन्त्रीपरिषद्को बैठकले पाँच वटा निर्णय गरेको छ । सुर्खेतदेखी मुगुको ताल्चा विमानस्थलसम्म पुग्न हवाई मार्गलाई प्रभावकारी बनाइने छ । स्थलगत मार्गलाई पनि प्रभावकारी बनाउन डिभिजन सडक कार्यालय सुर्खेत र जुम्लालाई मर्मत गर्न निर्देशन दिएको मन्त्री ज्वालाले उल्लेख गरे ।
रारा तालमा प्रधानमन्त्री ओलीसहित कर्णाली प्रदेशको मन्त्रीपरिषद्को बैठक बस्ने र त्यसपछि प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यतालिका रहेको ज्वालाले बताए । उनले बैशाख १ गते विहान ११ बजे कर्णाली–रारा पर्यटन वर्ष–२०७५ को उद्घाटन गर्न सरिक हुने प्रधानमन्त्री ओली चैत्र ३० गते रारा पुग्ने कार्यतालिका रहेको जानकारी दिए ।