सुर्खेत । सुर्खेत उपत्यकाको खानेपानी संकट टार्न अब फास्ट ट्याकबाट भेरी नदीको पानी पम्पीङ्ग गरिने भएको छ । वर्षौदेखी खानेपानी समस्या झेल्दै आएका वीरेन्द्रनगरबासीलाई खानेपानी उपलव्ध गराउँन भेरी नदीको पानी पम्पीङ्ग गर्ने कार्य शुरु गर्न लागिएको हो ।
झुप्रा खोला र भेरी नदी नजिकैको ठाउँबाट वीरेन्द्रनगर–११ स्थित अमृत डाँडामा पानी पम्पीङ्ग गरिनेछ । यसका लागि सिएमएस, श्री गशेण र जेसीना इन्जिनियरिङ्ग कन्सल्टेन्सीले संयुक्त रुपमा सुर्खेत उपत्यका खानेपानी आयोजनाको मस्यौदा प्रतिवेदन तयार गरेर सार्वजनिक गरेका छन् । भेरी नदीको पानी पम्पीङ्ग गर्न कुनै असहज नभएको र कम्तीमा तीन वर्षमा आयोजना सम्पन्न गर्न सकिने मस्यौदा प्रतिवेदनमा उल्लेख छ ।
प्रतिवेदन सार्वजनिक भएसंगै बैशाख महिनासम्म आयोजनाको डिपिआर तयार गर्ने र लगत्तै निर्माणका लागि टेण्डर आह्वान गरिनेछ । कन्सल्टेन्सीले बैशाख महिनाको अन्तिमसम्ममा डिपिआर प्रतिवेदन सुख्खा क्षेत्र खानेपानी आयोजनालाई बुझाउने गरी गृहकार्य थालेको छ ।
क्षेत्रीय अनुगमन तथा सुपरिवेक्षण कार्यालयको आयोजनामा शुक्रबार भएको प्रतिवेदन माथिको छलफल तथा परामर्श बैठकमा टिम लिडर एवम् श्री गशेण इन्जिनियरिङ्ग कन्सल्टेन्सीका कार्यकारी निर्देशक हरिराम कोइरालाले पानीको स्रोत पहिचान गर्दा छोटो समयमै भेरी नदीको पानी पम्पीङ्ग गर्न सकिने जानकारी दिए ।
पम्पीङ्ग गरिएको पानी अमृतडाँडास्थित निर्माण हुने ४० लाख लिटरका चार वटा इन्टेकमा झर्नेछ । नदीदेखी अमृतडाँडासम्मको दुरी पाँचहजार पाँचसय मिटर उचाईमा छ । ‘भेरी नदीमा रहने इन्टेकदेखी १३५ मिटरको दुरीमा पानी प्रशोधन केन्द्रहरु रहनेछ’ कन्सल्टेन्सीका टिम लिडर एवम् कार्यकारी निर्देशक कोइरालाले भने,–‘फेरी १३५ मिटरको दुरीमा दोस्रो चरणमा पम्पीङ्ग गरेर अमृतडाँडामा पानी झारिने र उपत्यकामा पानी वितरण गरिनेछ ।’
देशका अन्य ठाउँहरुमा पम्पीङ्ग आयोजना सफल हुँदै गएकाले सुर्खेत उपत्यकाको खानेपानी संकट समेत भेरी नदीबाट ल्याइएको पानीले पूरा हुनेमा विश्वस्त रहेको सुख्खा क्षेत्र खानेपानी आयोजनाका प्रमुख शंकरमणि पोखरेलले बताए ।
उनका अनुसार ३५० लिटर प्रतिसेकेण्ड पानी पम्पीङ्गमार्फत अमृतडाँडामा ल्याइनेछ । आगामी आर्थिक वर्षको भदौदेखी निर्माणको काम शुरु हुने र तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुलमणि देवकोटाले जानकारी दिए ।
‘उपत्यकाको खानेपानी संकट टार्ने दीर्घकालिन आयोजना भनेकै भेरी नदीको पानी पम्पीङ्ग नै हो’ अध्यक्ष देवकोटाले भने,–‘अमृतडाँडामा पानी पम्पीङ्ग गरेपछि रत्नराजमार्गको दायाँ–बायाँ र हटलाइनमा मुख्य लाइनबाट पानी वितरण गरिनेछ ।’ कर्णाली प्रदेश सरकारले प्रदेश राजधानीको खानेपानी संकट समयमै समाधान गर्न नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरेको छ ।