☰ open Loading... 18 November 2024|  

महोत्वकांक्षी बजेट ल्याएकै हाैं : अर्थमन्त्री ज्वाला
  | १४ बैशाख २०७५, शुक्रबार १८:३६

सुर्खेत । समग्र प्रदेशको विकास लागि दीर्घकालिन योजना नबनाई अघि बढ्दा समृद्धको सपना पूरा नहुने भएकाले महोत्वकांक्षी बजेट ल्याएको आन्तरिक मामिला तथा अर्थ मन्त्रालयका मन्त्री प्रकाश ज्वालाले बताएका छन् । बजेट बक्तव्य बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा ज्वालाले भिजनरी सोच नभएसम्म काम नहुने भएकाले महोत्वकांक्षी बजेट ल्याएको बताएका हुन् ।


अन्यौलता र क्षेत्राधिकार अस्पष्टताले छोटो समयमा सानो आकारको बजेट महत्वाकांक्षी भएपनि ल्याउन सफल भएको उनले बताए । ‘चालु आर्थिक वर्ष सकिन दुइ महिना मात्रै बाँकी छ’ अर्थमन्त्री ज्वालाले भने,–‘अख्तियारी दिन र कार्यविधि बनाउनै यो महिना बित्छ त्यसैले दुई महिनामा बजेट कम खर्च हुने भएकाले कार्यन्वयनमुखी योजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको हौं ।’

प्रदेशको पहिलो बजेटअघि श्वेत पत्र नआएकाले कतिपयलाई महत्वकांक्षी बजेट लाग्नु स्वभाविक भएको उनले बताए । ‘विविध समस्याले प्रदेशको मार्गचित्र दर्शाउने श्वेत पत्र ल्याउन सकेनौं’ ज्वालाले थपे,–‘बजेट बक्तव्य आइसकेकाले जसरी पनि कार्यान्वयन गर्ने रफ्तारमा आफूहरु जुटिसकेका छौं ।’

ज्वालाले बर्षात अगावै सुर्खेतका बाढी पहिरो पीडितहरुलाई छानामुनी ल्याउने गृहकार्य शुरु भएको समेत बताए । अनावश्यक खर्चभन्दा तत्काल गर्नुपर्ने र दीर्घकालिन योजनाका लागि बजेट वक्तव्य सार्वजनिक गरिएको बताएका मन्त्री ज्वाला स्पष्ट पारे ।

‘भिजनरी सोच नभएसम्म कसरी समृद्ध कर्णाली प्रदेश हुन्छ’ प्रश्न गर्दै ज्वालाले भने,–‘कतिपयले सम्भाव्यता अध्ययन मात्रै बजेटमा बढी समेटेको भन्दै आलोचना गरिरहेका छन्, तर केन्द्रीय सरकारबाट आउने बजेटविना प्रदेशको विकास गर्न नसकिने भएकाले केन्द्रीय प्राथमिकतामा पार्न सम्भाव्यता अध्ययन समावेश गरिएको हो ।’

बजेट वक्तव्यमा सवै योजनाहरु समावेश नगरिने भएकाले रातो किताबमा विस्तृत रुपमा योजनाहरु समावेश रहेको उनले उल्लेख गरे । वर्षात् अगावै गर्ने पर्ने कामहरुका लागि बजेट विनियोजन गरेको बताए । केही योजनाहरुमा बजेट सानो भएपनि उदेश्य सानो नभएकाले कार्यान्वयमा साथ दिन मन्त्री ज्वालाले आग्रह गरे ।

कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री विमला केसी, मुख्यमन्त्री कार्यालयका मुख्य सचिव रामप्रसाद थपलिया, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, जिल्ला प्रहरी कार्यालयका प्रमुख उमाप्रसाद चतर्वेदी लगायतको उपस्थिती थियो ।