सुर्खेत । २६४२ औं बुद्ध जयन्तीको अवसरमा सुर्खेतमा स्थापना गर्न लागिएको बुद्ध सरोवरको लागि कर्णाली प्रदेश सरकारले सहयोग गर्ने भएको छ । बुद्ध जयन्तीको अवसरमा तीन दिने धर्म देशना कार्यक्रममा सरोवर स्थापनामा प्रदेश सरकारले सहयोग गर्ने बताईएको हो ।
धर्मोदय शाखा सुर्खेतको आयोजना तथा आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेत र नेपाल अहिंसा बौद्ध धर्म विश्व शान्ति धर्म चक्र महासंघ नवलपरासीको समन्वयमा शनिबारदेखि तीन दिनसम्म धर्म देशना सुरु भएको छ ।
उद्घाटन कार्यक्रममा अधिकांश सहभागिहरुले जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको बुद्धको मुर्तीको अपमान भएको औंल्याएका छन् । नेपालमा कुनै धर्मलाई लिएर विभेद नभएको र कर्णाली प्रदेश पनि त्यसमा स्पष्ट रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढाले उल्लेख गरे । ‘वीरेन्द्रनगरमा स्थापना हुन लागेको बुद्ध सरोवरलाई कर्णाली प्रदेशले आगामी २०७५÷०७६ को बजेटमै समावेश गर्नेछ’ उनले भने ।
बुद्ध सरोवरको लागि वीरेन्द्रनगर नगरपालिकाले उचित व्यवस्थापन नगरी आफ्नै निर्णय मात्र अघि सारेकोले सरोवरको निर्माण प्रक्रिया अगाडी नबढेको आरोप मगर संघ सुर्खेत अध्यक्ष डिलबहादुर वंशीमगरको छ ।
बुद्ध सरोवरको जग्गा अतिक्रमण भैरहेकोले ती जग्गाहरुमा सरोवरले बुद्ध स्तुप बनाउन लागेकोले यथासक्य अतिक्रमित जग्गालाई सहजरुपमा व्यवस्थापन गरिदिन समेत अध्यक्ष वंशीमगरले आग्रह गरे । अध्यक्ष वंशीमगरले बुद्ध जन्मेको देश, सगरमाथाको देश र विर गोर्खाली रहेको देश भनी नेपाल चिनिएकोले राज्यले ति तीन वटै पक्षलाई ओझेलमा पार्न खोजेको समेत आरोप लगाए ।
कार्यक्रममा बोल्दै आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्च सिंह रोकाय खाम्पाले प्रहरीको हिरासतमा रहेको बुद्धको मुर्तिलाई काँक्रेविहारमा राख्न सरकारले नै पहल गर्नुपर्ने बताए । अपमान भैरहेको बुद्धको मुर्तिको विषयलाई यथासक्य समुचित ढंगबाट प्रदेश सरकारले समाधान गर्नुपर्ने अध्यक्ष खाम्पाको स्पष्टोक्ती छ ।
धर्मोदय शाखा सुर्खेतका अध्यक्ष मोहन थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रम बौद्ध धर्मगुरु धुनरुप रिम्पोन्छे, नेपाल अहिंसा बौद्ध धर्म विश्व शान्ती धर्म चक्र महासंघका प्रेमदार्जे, समाज कल्याण परिषद् पूर्व केन्द्रीय कोषाध्यक्ष रत्न गाहा, वीरेन्द्रनगर नगपालिकाको कार्यपालिका सदस्य एवं वडा नं. ४ का अध्यक्ष निलकण्ठ खनाल, वडा नं. ५ का वडा अध्यक्ष राजबहादुर गुरुङ, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् सुर्खेतका अध्यक्ष पञ्चसिंह रोकाय खाम्पा, आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् सुर्खेतका अध्यक्ष कर्णबहादुर रानामगर, आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति सुर्खेतका पूर्व अध्यक्ष रेशम रानामगर, नेपाल पत्रकार महासंघ सुर्खेतका पूर्व अध्यक्ष दुर्गा थापा, फोनिज कर्णाली प्रदेश ईन्चार्ज अशोक राजी, फोनिज सुर्खेतका अध्यक्ष प्रभासकुमार शाक्य, मगर महिला संघ सुर्खेका अध्यक्ष नन्दकला थापामगर, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ सुर्खेतका अध्यक्ष कृष्णा वंशीमगर, नेवा द्य दवु सुर्खेतका अध्यक्ष तिला श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।