☰ open Loading... 20 April 2024|  

धर्मका नाममा अतिवाद, ‘प्रभु’ को राज्य !
  | २५ बैशाख २०७५, मंगलवार १६:२८

दाङ । लमही बजारछेउमा चारतले ठूलो घरमा डेढ महिनाअघि ठूलो बोर्ड झुन्ड्याएर घोषणा गरियो ‘प्रभुको राज्य।’ बोर्डमा लेखिएको थियो, यहोवा (परमेश्वर) को राज्य। बाबइल अध्येताका अनुसार यहोवाको अर्थ परमेश्वर हो। यहोवा राज्य घोषणा भएपछि त्यो बस्ती आफ्नो कब्जामा परिसकेको भन्ने बाइबलमा उल्लेख छ।

यो राज्यमा अन्य धर्म सम्प्रदायका नागरिकलाई प्रवेश निषेध गर्नु भन्ने पनि बाइबलमा उल्लेख रहेको जानकारहरु बताउँछन्। छिमेकीहरुले प्रभुको राज्य घोषणाको चर्को विरोध गरे। विरोधपछि बोर्ड हटाइएको छ। प्रभु राज्यका शासकहरु कहाँ बस्दारहेछन् त ? यो घरदेखि झन्डै पाँच सय मिटर पूर्वमा रहेको अत्याधुनिक घर शासकहरुको निवास रहेछ। रातो रङको तीनतले घरमा पुग्दा एक विदेशी युवक प्रभु राज्यका शासकमध्येका एकजना गेटबाहिर निस्किए।

आफूलाई जापानी नागरिक भनेर परिचय दिएका उनी नेपाली भाषा अस्पष्ट बोल्दा रहेछन्। पत्रकारको परिचय थाहा पाउनसाथ गोरो वर्णको उनको अनुहार एकाएक कालो भयो। आफू निकै व्यस्त रहेको भन्दै उनले गेटभित्र छिर्न हतार गरे। ‘म एकदम हतारमा छु, काममा निकै व्यस्त छु,’ उनले भने, ‘तपाईंलाई समय दिन सक्ने अवस्था मँसग छैन।’ इसाई धर्म बारेमा सोध्नासाथ उनले जबाफ दिए, ‘म नेपाली संस्कृति मन पराउने भएकाले यहाँ बस्न थालेको हुँ।

संगीतप्रेमी म यहीं बसेर संगीत सिकिरहेको छु।’ छोटो कुराकानीका क्रममा उनले आफ्नो परिचय दिनै मानेनन्। ‘नचिनेको मान्छेलाई परिचय दिने जापानी संस्कारमा हुन्न, म मेरो संस्कारविरुद्ध जान्नँ’ भन्दै उनी घरभित्र छिरे। संगीत अभ्यासका लागि जापानबाट लमहीमा आएको बताएका ती युवकको दिनहुँको एकएक चर्तिकला नजिकैका पसलेले देखिरहन्छन्।

को हुन् उनी ? पसल सञ्चालिकाले भनिन्, ‘क्रिस्चियन धर्म प्रचारमा आएका हुन् रे, दिनहुँ धर्मको पर्चा बाँडेर गाउँगाउँ हिँड्छन्।’ यो घर विगत दुई वर्षदेखि प्रभुका शासकहरुको आश्रयस्थल बनेको रहेछ। बेलाबेलामा घरमा विदेशी नागरिक फेरिइरहन्छन्। ‘कहिले को कहिले को, नयाँनयाँ अनुहारका विदेशी आइरहन्छन्’, उनले भनिन्, ‘कोही कोरियाका हौँ भन्छन्, कसैले जापानी हौं भन्छन्।’ प्रभुको राज्य र प्रभुका विदेशी शासकहरुको थलो पहिल्याएपछि प्रभुको शासनबारे विस्तृत जानकारी लिँदै जाँदा बग्रेल्ती अमानवीय घटनाहरुले यो पुष्टि गर्‍यो, देउखुरीमा प्रभुको शासन जबरजस्ती चलिरहेको रहेछ।