सुर्खेत । काँक्रेविहार प्रा.लि.को आयोजना र सुष्मा कोइराला मेमोरियल अस्पतालको प्राविधिक सहयोगमा वीरेन्द्रनगरमा निःशुल्क शल्यक्रिया शिविर बिहिबार देखि सुरु भएको छ ।
जेठ ३ देखि ५ गतेसम्म सञ्चालन हुने शिविरमा आगोले पोलेर शरिरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, खुट्टाको पैताला भित्रतिर फर्किएको, हात खुट्टा काटिएको ठाउँमा पाकेर वा कुनै कारणले पुर्ण शल्यक्रिया गर्नुपर्ने, मांशपेशी खुम्चिएर कुनै अंग चलाउन नमिल्ने समस्याको समाधान, विस्फोटनमा परी शरिरको कुनै भागको शल्यक्रिया गर्नुपर्ने, कान तथा नाक चिरिएको, शरिरमा भएका मुसा, कोठी दाग तथा गाँठाहरुको शल्यक्रिया, आगोले पोलेर कपाल गुमेकोसहित जनरल ओपिडी सेवा दिइएको सुष्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक सन्तोषबिक्रम भण्डारीले बताए ।
सुर्खेबाट प्रकाशित कर्णाली प्रदेशकै पहिलो काँक्रेविहार दैनिक १८ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उक्त शिविरको आयोजना गरिएको हो । काँक्रेविहार दैनिकका सम्पादक सुशीलराज शर्माले पत्रिका १८ औँ वर्ष प्रवेश गरेकोमा सामाजिक सेवा मार्फत उत्सव मनाउन लागिएको बताए ।
‘औपचारिक कार्यक्रम गरेर भाषण गर्नुभन्दा असहाय तथा गरिवहरुको सेवा गरेर मनाउँन उचित लाग्यो, फलदायी पनि रह्यो । जतिसक्दो धेरैले सेवा लिउन् भन्ने चाहना छ ।’ सम्पादक शर्माले भने । आर्थिक अवस्था कमजोर भएकालाई काठमाडौ जाँदा काँक्रेविहार मिडिया प्रा.लि.ले गाडीभाडा र उहाँ खान र बस्नलाई समेत प्रवन्ध गर्ने शर्माले बताए ।