☰ open Loading... 20 November 2024|  

केपिएल क्रिकेटकाे उद्घाटनमा पुगेकाे मन्त्री रावलले भने,-‘दुर्इ वर्षमै सुर्खेतमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्छौं’
  | ३ जेष्ठ २०७५, बिहीबार २०:०६

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा कर्णाली प्रिमियर लिग (केपिएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिता शुरु भएको छ । बन्धुविकास सहकारी संस्थाको आयोजनामा बिहिबारदेखी टि–ट्वान्टी क्रिकेट प्रतियोगिता वीरेन्द्रनगरस्थित रंगशालामा शुरु भएको हो ।

प्रतियोगिताको उद्घाटन प्रदेश प्रमुख दुर्गाकेशर खनाल र सामाजिक विकास मन्त्री दल रावलले गरेका छन् । उद्घाटन समारोहमा बोल्दै कर्णाली प्रदेश प्रमुख दुर्गा केशर खनालले अहिले युवा पुस्ताका माझमा क्रिकेट खेल लोकप्रिय रहेको र कर्णाली प्रदेशमा पनि प्रदेश स्तरिय खेल हुनु गौरबको विषय भएको बताएका छन् ।

तर, सामाजिक विकास मन्त्री दल रावलले दुई वर्षमा सुर्खेतमा अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणका लागि डीपिआर गर्न बजेट विनियोजन गरेको जानकारी दिए ।

‘प्रदेशको खेलकुद पूर्वाधार कमजोरहुँदा दक्ष खेलाडी उत्पादनमा कठिनाई भएको छ’ मन्त्री रावलले भने,–‘प्रदेश सरकार समग्र खेलकुदको विकासका लागि कटिवद्ध भएर लागेकाले दुई वर्षमा देखिने काम गर्नेछु ।’ आगामी आर्थिक वर्षमा प्रदेशको उच्च हिमाली जिल्लामा माउन्टेन स्पोर्टस एकेडेमी निर्माण गर्न बजेट छुट्टाइने पनि मन्त्री रावलले प्रतिवद्धता जनाए ।

लिगमा शक्ति गौचनले रूपन्देही–११, सुवेन्दु पाण्डेले मध्यपश्चिम क्रिकेट क्लब, विनोद भण्डारीले त्रिभुवन आर्मी क्लब, प्रदीप ऐरीले महाकाली क्रिकेट क्लब, राजन शेरचनले टीकापुर क्रिकेट क्लब, विवश गिरीले रोयल राइजिङ क्रिकेट क्लब, लोकेन्द्र बिकले भेरीगंगा स्पोर्ट्स क्लब, सञ्जय बस्नेतले काठमाडौं क्रिकेट ट्रेनिङ सेन्टर, रवीन्द्रजंग शाहीले एबीसी क्लब तथा भुवन कार्कीले धनगढी क्रिकेट एकेडमीमा कप्तानी सम्हालेका छन् ।

लिग कम नक–आउट फम्र्याटमा आयोजना भएको प्रतियोगितामा १० टिमहरुलाई २ समूहमा विभाजन गरिएको छ । समूहमा रहेका उत्कृस्ट २ टिमले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रदेशकै ठुलो पुरस्कार राशी भएको क्रिकेट प्रतियोगिता जेठ १२ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताको बिजेताले तीनलाख र उपविजेताले १ लाख ५० हजार नगद पुरस्कार पाउने आयोजकले जनाएको छ ।