सुर्खेत । विकास निर्माणको जिम्मा लिएर काम अलपत्र पार्ने ठेकेदार सरकारकाे निशानामा रहेको गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । कर्णाली प्रदेशस्तरिय सुरक्षा गोष्ठीमा सहभागी हुन वीरेन्द्रनगर आइपुगेका थापाले यातायातको सिण्डिकेटपछि सरकारको निशानामा निर्माणको काम अल्झाउने ठेकेदार रहेको बताएका हुन् ।
‘कुनै पनि काम निर्माणको क्रममा अवरोध भए सरकार पूर्ण सुरक्षा दिन्छ’ गृहमन्त्री थापाले भने,–‘निर्माणको जिम्मा लिने तर निर्धारित समयमै काम नगर्ने ठेकेदारलाई अब सरकारले छुट दिँदैन तत्काल पक्राउ गरेर जेल हाल्छौं ।’ समयमै विकास निर्माणको काम नहुँदा जनताले सास्ती खेप्नु परेको भन्दै गृहमन्त्री थापाले अब ठेकेदारले अल्झन देखाएर उम्कीन नपाउने बताए ।
यातायात क्षेत्रको सिण्डिकेट सुरुवाती मात्रै भएको बताएका थापाले अब सबै क्षेत्रका तस्करी, सिन्डिकेट, विकृति, विसंगति र भ्रष्टाचार अन्त्यलाई अभियानकै रुपमा अघि बढाइने जानकारी दिए । ‘मुलुकमा सुशासन कायम गर्न यस्ता सबै खाले विकृतिको अन्त्य गरेर विकासलाई गति दिन राज्य गम्भीर भएर लागेको छ’ थापाले भने ।
विकासका लागि सुशासन, स्थायित्व र दिगो शान्ति जरुरी रहेको उनले बताए । सबै क्षेत्रमा माफियातन्त्र हाबी रहेको भन्दै गृहमन्त्री थापाले त्यस्ता माफियाविरुद्ध सरकार कठोर रुपमा प्रस्तुत हुने बताए । उनले विकास निर्माणमा देखिएको ढिलासुस्ती, ठगी नियन्त्रण गर्ने कदम चालिरहेको जानकारी दिए ।
सरकारलाई अतिवादी र नेकपा माओवादी नेतृत्व विप्लव माओवादीबाट सुरक्षा चुनौती रहेको पनि सरकारले सहज रुपमा यसको अन्त्य गर्ने थापाले दावी गरे । जनताको पक्षमा काम गर्न सरकार कटिवद्ध भएपछि अतिवादी र विप्लवलाई शैय नभएपछि उदण्ड मच्चाउन उद्धत भएको थापाको भनाई छ ।
एक मधेसको नारा लगाइरहेको सिके रावत जस्ता व्यक्तिहरुले धार्मिक नारा घन्काएर राज्यलाई द्वन्द्वतर्फ फर्काउने तत्वहरु सक्रिय रहेको खुलासा पनि थापाले गरे । उनले देश विकासमा बाँधक कसैलाई पनि नछाड्ने उद्घोष गरे । गोष्ठीमा प्रदेशका १० जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, नेपाली सेना र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुले प्रदेशको सुरक्षा अवस्था र चुनौतीका विषयमा जानकारी गराएका थिए ।