☰ open Loading... 24 November 2024|  

वन मन्त्रालयकाे विवाद छताछुल्ल : मन्त्रीको रिस पिएमाथि पोख्दै थुनाए सचिवले
  | ९ जेष्ठ २०७५, बुधबार १९:१४

सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएको छ । लामो समयदेखी मन्त्रालयका मन्त्री र सचिवविच बोलचालै बन्द थियो । मन्त्रालयका मन्त्री नन्दसिंह बुढालाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आइएको आरोप लागेको थियो । तर बुधबार मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई सचिव झाले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएपछि मन्त्रालयभित्रको विवाद देखिनेगरी छताछुल्ल भएको हो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झा (बायाँ) र मन्त्रीका पिए डम्बर बुढा (दायाँ)

बुधबार दिउसो मन्त्रालयमा पुगेका स्वकीय सचिव बुढाले सचिव झालाई मन्त्रीको भ्रमण आदेश स्वीकृत गर्न फोन गरेका थिए । आफ्नै कार्यकक्षमा नभएका सचिवले रिसको झोकमा प्रहरी बोलाएर बुढासहित अन्य दुई जना सेवाग्राहीलाई प्रहरीले पक्राउ गरेको थियो ।

‘बुधबार विवाद केही भएको हैन, म मन्त्रालयमा गएर मन्त्रालयकै ल्याण्डलाईन फोनबाट सचिवलाई भम्रण आदेश स्वीकृत गर्नु छ कार्यकक्षमा आउनुहोस् भनेको हुँ’ बुढाले भने,–‘१५ मिनेटपछि मन्त्रालयमा प्रहरी आएपछि सचिवलाई हातपात गर्ने को हो भन्दै मसहित अन्य दुई जना सेवाग्राहीलाई प्रहरीले जिप्रका ल्यायो ।’

स्रोतले दिएको जानकारी अनुसार यसअघि नै मन्त्रीसंगको विवादमा मुछिएका सचिव झाले रिसको आवेगमा बुढालाई पक्राउ गर्न लगाएको आरोप छ । मन्त्रालयको कार्य सम्पादनमा असहयोग गरेका झाले मन्त्री नभएको झोकमा मन्त्रीकै स्वकीय सचिवलाई पक्राउ गर्न लगाउनु गलत भएको स्रोतको ठहर छ । स्वकीय सचिव बुढाले मन्त्रालयमा आफू मात्रै गएको र अरु कोही व्यक्तिलाई नलिएको दावी गरे ।

मन्त्रीलाई सबै काममा सहयोग गरिरहेको बचाउँ गर्दै सचिव झाले बुधबारको घटनाबारे आफू अनविज्ञ रहेको प्रतिक्रिया दिए । ‘म मन्त्रालयको माथिल्लो तलामा अरु नै काम गर्दै थिए, तल हो हल्ला भएछ प्रहरीले उनीहरुलाई लगेछ’ सचिव झाले भने,–‘मन्त्रीको स्वीकय सचिव पक्राउ गर्न प्रहरीलाई फोन गरेकै छैन् ।’

सचिव झाका अंगरक्षकले ८/१० जनाको समूह ल्याएर बुढाले हो–हल्ला गरेपछि प्रहरी आएर उनीहरुलाई लिएको बताए । ‘मन्त्रालयमा विवाद भइरहने भएकाले म यहाँ लामो समयसम्म बस्दै बसुञ्जेल राम्रो गर्ने सोच राखेको छु’ झाले भने,–‘मन्त्रीसंग बोलचाल नभएको सत्य हो, मैले मन्त्रालयको आर्थिक कारोवार अरुलाई दिएर समन्वयको भूमिका खेलीरहेको छु ।’

तर सचिव झा बुधबार दिउँसो नै जिल्ला प्रहरी कार्यालय पुगेर प्रक्रिया अघि नबढाउन प्रहरीलाई जानकारी गराइसकेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रहरी प्रमुख श्यामसिंह चौधरीले सचिव झाले बुधबार भएको विवाद बारे जानकारी गराएको र स्वकीय सचिव बुढासंग थप बुझेर विवाद सल्टाउने जानकारी दिए । पक्राउ परेका तीनै जनालार्इ प्रहरीले बुधबार साँझ छाडेको छ ।

‘वास्तविक विवाद के हो भन्ने विषयमा बुझ्दैछु’ चौधरीले भने,–‘दुवै पक्षका कुरा सुनेर के गर्ने भन्ने विषयमा टुंगो लाग्छ, अहिल्यै यसै हो भन्न मिल्दैन् ।’ मन्त्रीलाई असहयोग गरेको आरोप लागेका झाले केही दिन अघि काठमाडौं मन्त्रालयमा पुगेर स्पष्टीकरण दिएका थिए ।