सुर्खेत । कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विवाद छताछुल्ल भएपछि मन्त्रीका पिए थुनाउने सचिव सरुवा भएका छन् ।
मन्त्रालय सचिव विद्यानाथ झा कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सुर्खेतमा सरुवा भएका हुन् ।
उनको ठाउँमा केन्द्रिय वन तथा वातावरण मन्त्रालयका सह-सचिव धिरेन्द्र प्रधान आएका छन् ।
उनी अाइतबार मन्त्रालयमा हाजिर हुँदैछन् ।
लामो समयदेखी मन्त्रालयका मन्त्री नन्दसिंह बुढा र सचिव झाविच बोलचालै बन्द थियो ।
मन्त्रालयका मन्त्री नन्दसिंह बुढालाई सचिव विद्यानाथ झाले असहयोग गर्दै आइएको आरोप लगाउँदै आएका थिए ।
सचिवले पनि मन्त्रीले गरेको अनावश्यक खर्चमा अख्तियारी मागेको आरोप लगाएका थिए ।
तर बुधबार मन्त्रीका स्वकीय सचिव डम्बर बुढालाई सचिव झाले प्रहरीलाई बोलाएर पक्राउ गर्न लगाएपछि मन्त्रालयभित्रको विवाद उत्कर्षमा पुगेको थियो ।