☰ open Loading... 29 March 2024|  

सुर्खेती महिला फुटबल टिम बर्दिया प्रस्थान
  | १० जेष्ठ २०७५, बिहीबार १७:०९

सुर्खेत । बर्दियामा जारी रहेको प्रथम दमौली महिला कप फुटबल प्रतियोगितामा सहभागी हुन सुर्खेती महिला खेलाडीहरुको टोली बर्दिया प्रस्थान गरेको छ । जिल्ला खेलकुद विकास समितिका पदाधिकारीहरुले महिला खेलाडीहरुको टिमलाई बिहिबार जितको शुभकामना दिँदै विदाई गरेको हो ।


समितिका अध्यक्ष चन्द्रकुमार गिरी, फुटबल संघका उपाध्यक्ष चन्द्र श्रेष्ठ, महासचिव गणेशकुमार कार्कीसहितको टोलीले प्रतियोगिताको विजयको शुभकामना दिँदै विदाई गरेका थिए ।

फुटबल खेल मात्र नभई प्रतिष्ठाको विषय भएकाले सुर्खेत र सुर्खेतीको प्रतिष्ठा बढाएर आउन समितिका अध्यक्ष गिरीले खेलाडीहरुलाई शुभकामना दिए । उनले कर्णाली प्रदेशको प्रतिनिधित्व गर्दै महिला टोली बर्दिया जानु सुखद् पक्ष भएको पनि बताए ।

खेलकुदका लागि कर्णाली उर्वर भूमि भएको दावी गरेक गिरीले थुप्रै खेलहरुमा यहाँका खेलाडीहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गरेको बताए ।

उपाधिसंगै बर्दियाली जनताको मन जितेर आउन शुभकामना दिंदै जिल्ला फुटवल संघका महासचिव कार्कीले खेलभावनासंगै अनुशासन र मर्यादाको पनि ख्याल राख्न सुझाए । सुर्खेती खेलाडीले उत्कृष्ट खेलसंगै उत्कृष्ट खेलभावना र अनुशासनपनि प्रदर्शन गरेको भनेर सुन्न चाहेको अपेक्षा राखेको उनको भनाई छ । ‘खेल र अनुशासन खेलाडीका लागि दुबै उत्तिकै महत्वपूर्ण पक्ष हुन्’ कार्कीले भने ।

१६ जना खेलाडी र २ जना अफिसियलसहित १८ जनालाई बर्दिया जान आउनका लागि आर्थिक सहयोग नेपाल निर्माण व्यवसायी एकता समाज र खेलकुद विकास समितिले जर्सी सहयोग गरेको छ ।

सुर्खेतसहित दाङ, बाँके, बर्दिया र दैलेखका गरी ७ टिमको सहभागिता रहने प्रतियोगिता जेठ १० देखि १५ गतेसम्म बर्दियाको बाँसगढी नगरपालिका ६ दमौलीमा भइरहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार, उपविजेताले ३० हजार तथा सेमिफाइनल पुग्ने टोलीले १० हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । सुर्खेतले शुक्रबार पहिलो खेल बाँकेसंग खेल्दै छ । यो खेल जितेमा सेमिफाइनलमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।