सुर्खेत । मनसुन सुरु हुन अगावै परेको पानीले वीरेन्द्रनगरका केही भाग जलमग्न भएका छन् । वीरेन्द्रनगर वडा नम्बर ४ को सिद्धपाइला चौकदेखी उत्तरी टोलमा बिहिबार दिउसो परेको पानीले जलमग्न भएको हो ।
वीरेन्द्रनगर क्षेत्रमा प्रभावकारी ढल निकास हुने नालीको व्यवस्थापना नहुँदा नागरिकले सास्ती झेल्न परेको छ । निर्माधिन फोरलेन सडकको उत्तरी र दक्षिण किनारामा नाली निर्माण नहुँदा सडक किनाराका नागरिकहरुको घरहरु डुवान भएका छन् ।
‘वर्षात अगावै पर्ने पानीमा वस्ती डुवान हुने गरेका छन्’ स्थानीय कपिल थापाले, ‘वर्खामा लामो समयसम्म पर्ने पानीले कति समस्या होला । सरोकारवाला निकायले समयमै नालीको व्यवस्थापन नगर्दा नागरिकले सास्ती ब्यहोर्नु परेको छ ।’ वीरेन्द्रनगरको वुद्धपथबाट भएर बग्ने बाढीले तल्लो क्षेत्रका नागरिकहरुले सास्ती झेल्नु परेको छ ।
फोरलेन सडक निर्माणको क्रममा यरिचौक नजिकैको चाइनपूलदेखी पूर्व र बसपार्कसम्म ढल निकासको विवादमा सडक कालोपत्रे हुन सकेको छैन् । वुद्धपथ र कुइनेपानी क्षेत्रबाट आउने ढल र वर्षातको बाढीले गण्डकी लाइन र वसपार्क क्षेत्रको वस्ती डुवान हुनेगरेपछि स्थानीयले नै अवरोध गर्दै आएका छन् ।
स्थानीयहरुले यी दुवै नाकाबाट आउने ढल र बाढीलाई पूर्वमा इत्राम खोला र पश्चिममा खोर्के खोलासम्म नाली खनेर निकास दिन माग राखेका छन् । स्थानीय विनोद लम्सालका अनुसार कुइनेपानी क्षेत्रबाट भएर आउने ढल वा पानीको निकास वसपार्कदेखी तल्लो क्षेत्रमा छैन । त्यसैले सडक निर्माणमा स्थानीयहरुले नालाको निकास दिएर मात्रै सडक कालोपत्रे गर्न माग रोखेको लम्सालको भनाई छ ।
यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले तलको पानी माथि लैजान नमिल्ने भएकाले समस्या उत्पन्न भएको जानकारी दिए । उनले गण्डकीलाइनदेखी मंगलगढी र बसपार्कसम्मका तल्लो क्षेत्रका नागरिकहरुले ढल र वर्षातमा आउने बाढीको निकास नदिदा समस्या उत्पन्न भएको बताए ।
तर वीरेन्द्रनगरका डुवान क्षेत्रमा तत्कालका लागि नगरपालिकाले कच्ची नाला बनाएर निकास दिने काममा अग्रसर भएको बताएका सुवेदीले भने, ‘आजदेखी डुवान क्षेत्रको सर्भे गरेर वर्षातमा हुने जोखिमको अहिले नै समाधान खोज्ने रणनीतिमा लागेका छौं ।’ प्राकृतिक रुपमै जाने पानीको निकाश दिन स्थानीयलाई प्रमुख सुवेदीको आग्रछ ।
जवरजस्ती बस्तीमा ढल वा बाढी पसाउने नगरपालिकाको मनसाय नभएको उल्लेख गरेका सुवेदीको प्रश्न छ, ‘वर्षौदेखी यथास्थानबाटै निकाश भइरहेको पानी अहिले अर्को ठाउँबाट कसरी निकाश दिने ।’ नगरपालिकास्तरबाट हुने प्रयास जारी रहेकाले यस विषयमा माथिल्लो निकायमा समेत जानकारी गराउने सुवेदीको भनाई छ ।